नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले प्रतिपक्षका नेताहरूलाई कानुनी डण्डा बर्साउने ओली सरकारको सुशासन नभई कुशासन भएको बताएका छन्।
शुक्रवार काठमाडौँमा आयोजित कार्यक्रम उनले प्रतिपक्षलाई छानी छानी सत्ता र शक्तिको दुरुपयोग गरी बदला लिने ओली सरकार सत्ता पक्षीय नेताहरूलाई छानबिन भन्दा पुरस्कृत गरिरहेको बताए।
उनले भने, ‘प्रतिपक्षलाई छानी छानी सत्ता र शक्तिको दुरुपयोग गरी बदला लिने ओली सरकार सत्ता पक्षीय नेताहरूलाई छानबिन भन्दा पुरस्कृत गरिरहेको छ।’
नेपालको स्थायित्व र शान्तिलाई खलबल्याउने विदेशी योजना अनुसार पछिल्लो समयमा प्रतिपक्ष दलका मुख्य नेताहरूलाई वर्तमान सत्ताले विभिन्न बहानामा आक्रमण गरिरहेको समेत गुरुङले आरोप लगाएका छन्।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भ्रष्टाचारको मुद्दा दायर गरिनु, रास्वपा सभापति रवि लामिछानेमाथि हदभन्दा बढी कानुनी डण्डा बर्साउनु, कुलमान घिसिङलाई हटाउनु, बालेन शाहलाई चलाई राख्नु प्रतिशोध र बदलाभाव भएको पनि उनको भनाइ छ।
सोही क्रममा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले अग्नि सापकोटा र सूर्यमान दोङलगायतका मुद्दा नियमित अदालतको नभई टीआरसीको क्षेत्राधिकारभित्र पर्ने बताए।
भण्डारीले शान्ति सम्झौता भएको २० वर्ष र जनयुद्धकालिन मुद्दा किनारा लगाउन आयोग बनेको १० वर्ष बितिसक्दा पनि शान्ति सम्झौतालाई तार्किक निष्कर्षमा पुर्याउनतिर दलहरूको ध्यान नहुनुको परिणाम पछिल्लो अवस्था आएको जिकिर गरे।
सङ्क्रमणकालीन न्यायको सिद्धान्त अनुसार जनयुद्धकाललिन उपलब्धि र क्षति कुनै एक पक्षको मात्रै नभएर सम्पूर्ण राज्यको भएको बताउँदै त्यसमा सबै एकजुट भएर किनारा लगाउनुपर्ने बताए।




















