मधेस केन्द्रित साना पाँच दलहरू मिलेर ‘सङ्घीय गणतान्त्रिक गठबन्धन’ बनाएका छन्।
बिहीबार जनकपुरधाममा गठबन्धन घोषणा समारोह गर्दै मधेस केन्द्रित ५ दलहरूले गठबन्धन घोषणा गरेका छन्। गठबन्धनमा परिजवान अन्सारी नेतृत्वको नेपाल सङ्घीय समाजवादी पार्टी, रामकुमार महतो नेतृत्वको नेपाल सद्भावना पार्टी, बद्री ठाकुर नेतृत्वको ऐतिहासिक जनता पार्टी, हरिनन्दनकुमार रञ्जन नेतृत्वको बहुजन एकता पार्टी र धुपलालप्रसाद सहनी (निषाद) नेतृत्वको नेपाल जनजागृति पार्टी रहेका छन्।
घोषणा समारोहमा नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वगृहराज्यमन्त्री अन्सारीले गणतन्त्रको नाममा सक्ताको खेल मात्र भइरहेको भन्दै गणतन्त्रको वास्तविकतालाई स्थापना र रक्षा गर्न गठबन्धन बनाएको बताए। उनले मधेसका कथित नेताहरूले जहिले पनि मधेसीलाई ठग्ने र धोका दिने काम मात्र गरेको आरोप लगाए।
कथित मधेसका मसिहा कहलाउनेहरूले शहीदहरूको बलिदानीलाई सत्तासँग साट्ने काम मात्र गरेको उनको आरोप छ। उनले दलाल पुँजीपति, भ्रष्ट नेता र कर्मचारीहरुका कारण देशमा गणतन्त्रको अवस्था निकै खराब रहेको बताए। अन्सारीले जनताको गणतन्त्र निर्माण र स्थापना गर्नका लागि आफूहरूले गठबन्धन गरेको जानकारी दिए। उनले देशमा जसको भोट त्यसकै राज हुने गरी वातावरण निर्माण गर्ने प्रतिबद्धता जाहेर गरे।
उनले आफूहरूको गठबन्धन इच्छाले नभई जनता र मधेसलाई अधिकार सुनिश्चित गर्न आवश्यकताले निर्माण गरिएको उल्लेख गरे।