सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ४ अर्ब २८ करोड बजेट विनियोजन गरेको छ।

आज संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले श्रम मन्त्रालयका लागि ४ अर्ब २८ करोड बजेट विनियोजन गरिएको जानकारी दिए।

यसैगरी सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि ९५ अर्ब ८१ करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै निरोगी नेपाल अभियान सञ्चालन गरिने समेत बताए।

स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिने बताए। उनले बिमितको सुविधा थैली क्रमशः विकास गरिने बताए। मन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब रुपैयाँ विनियोजन गरिने बताए। उनले सबै प्रदेशका एकएक अस्पताललाई विशिष्टीकृत जलन अस्पताल बनाइने बताए।

साथै सरकारले खेलकुद मन्त्रालयका लागि ६ अर्ब ८ करोड बजेट विनियोजन गरेको छ। बिहीबार बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले कीर्तिपुर क्रिकेट मैदानको स्तरोन्नती गर्नेसहितका कार्यक्रम बजेटमा समावेश गरिएको बताए।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि २ अर्ब ८ करोड बजेट पाएको छ। 

यसैगरी, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका लागि ८६ अर्ब १ करोड बजेट विनियोजन भएको छ।

सरकारले तल्लो सेती आयोजना सरकारी लगानीमा निर्माण गर्ने भएको छ। आर्थिक वर्ष २०८२/८३ को बजेटमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्। उनले अध्ययन सम्पन्न भएको तनहुँस्थित तल्लो सेती आयोजना सरकारी लगानीमा निर्माण गरिने र बुढीगण्डकी आयोजना सार्वजनिक निजी साझेदारीमा निर्माण गरिने पनि बताए। 

उनले भने, ‘सरकारले गरेको लगानीलाई सेयरमा परिणत गरेको छ। अपर अरुण किमाथाङ्का अरुण,नलगाड,मुगु कर्णालीको निर्माण ढाँचामा बनाइने छ। १०६ मेगावाटको जग्दुल्ला आयोजना निर्माण गरिने छ।’

उनले ६७० मेगावाटको जलसाय युक्त दुधकोशी जलविद्युत आयोजनाको जग्गा मुआब्जाको काम सम्पन्न गरी निर्माण कार्य सुरु गर्ने बताए। 

यसैगरी भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयले १ खर्ब ५२ अर्ब बजेट पाएको छ। अर्थमन्त्री विष्णु पौडेलले बिहीबार बजेट भाषणमार्फत भौतिक मन्त्रालयका लागि विनियोजित बजेटबारे घोषणा गरेका हुन्। 

सहरी विकास मन्त्रालयका लागि सरकारले १ खर्ब १८ अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संसद्मा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार प्रस्तुत गरेको बजेट भाषणमार्फत उक्त मन्त्रालयका लागि सो बजेट घोषणा गरेका हुन्। यसैगरी, खानेपानी मन्त्रालयको  लागि सरकारले ३३ अर्ब ८९ करोड बजेट विनियोजन गरेको छ।