जनकपुरधाममा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (तेस्रो लिङ्गी र किन्नर) समुदायले विरोध प्रदर्शन गरेका छन्। उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि विरोध गर्नुका साथै धर्नासमेत दिएका छन्।

गत चैत्र २ गते होलीको दिन जनकपुरधामस्थित विन्धिमा चक्कु प्रहार गरी हत्या भएको अंशु यादवको हत्यामा संलग्नहरूलाई प्रशासनले पक्राउ नगरेको र पक्राउ गरेकाहरूलाई पनि धरौटीमा रिहा गरेको भन्दै उनीहरूले विरोध जनाएका हुन्। 

उनीहरूले एक मात्र छोराको हत्या भएपछि न्यायका लागि भौँतारिँदै हिँडेको अंशुको आमालाई न्याय दिनुको साटो प्रहरी प्रशासनले पक्राउ परेकाहरूलाई धरौटीमा छाडेर झन् घाउमाथि नुन छर्केको आरोप लगाएका छन्। धरौटीमा छुटेकाहरूले अंशुको आमालाई धाकधम्की दिँदै आएको उनीहरूको आरोप छ।

आन्दोलनकारीहरूले अंशुको हत्यामा संलग्न सबै जनालाई कानुनको दायरामा ल्याएर सजाय नदिए आफूहरू अनिश्चितकालिन धर्नामा बस्ने चेतावनी दिएका छन्। उनीहरूले आफूहरूको अगाडि पछाडि कोही नरहेको भन्दै अंशुको लागि मर्नु परे मर्न तयार रहेको बताएका छन्।

उनीहरूले प्रहरी र राजनीतिक व्यक्तिहरूले पैसाको चलखेल गरेर अपराधी उम्काउन खोजेको आरोप लगाएका छन्।