प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहका निर्वाचित वडाध्यक्षहरूले जनता र पार्टीसँगको घनिष्ट सम्बन्धलाई सुदृढ बनाएर विकास र सुशासनका लागि काम गर्नुपर्ने बताएका छन्।
नेकपा एमालेको बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले जनतालाई छिटो र सहज सेवाका साथै विकास र सुशासन कायम गर्ने क्रममा निर्वाचित पालिकाका प्रमुख, उपप्रमुख अरू पार्टी र पक्षसँग पनि राम्रो सम्बन्ध कायम गरी काम गर्न आग्रह गरेका हुन्।
‘तपाईँहरू पार्टीबाट निर्वाचित भएर जिम्मेवारीमा गएको हो। निर्वाचन जितेपछि चङ्गाको धागो काटिए जस्तो पार्टीसँगको सम्पर्क काटिनु हुँदैन। मैले जितेँ, मलाई अरू मतलब छैन भन्न मिल्दैन। अर्को निर्वाचन पनि आउँछ। त्यस कारण तपाईँहरूले अहिले पार्टीका नीति, निर्देशनहरूलाई पालना गर्दै देश र जनताको सेवामा सक्रिय रहनुपर्छ।’, प्रधानमन्त्री ओलीले भने, ‘यो पार्टी वास्तविक जनतन्त्रका लागि बनेको हो। देशको स्वाधीनता र भौगोलिक अखण्डताका पक्षमा दृढ भएर लाग्ने पार्टी हो। एमाले देशको नायक पार्टी हो। तथाकथित वामपन्थीहरू एमालेलाई धुलो चटाउँछु, टर्च लाइट बालेर खोज्न नभेटिने बनाउँछु भनेर अनेक षड्यन्त्रमा उत्रिए तर हामीले ती षड्यन्त्रहरू चकनाचुर बनाएर अगाडि बढेका छौँ।’
प्रधानमन्त्री ओलीले आफूहरूले कम्युनिष्ट भनेर पार्टी एकता गरे पछि लगभग दुई तिहाइमा पुगेको नेकपालाई विभाजनको अपराध गरेर एमालेको देश बनाउने अभियानलाई रोक्न खोजेको टिप्पणी गर्दै देशलाई बनाउन नदिने देशी विदेशीहरूको एमालेमाथिको आक्रमण देशकै विरुद्धको आक्रमण हो भने। ‘उनीहरू खासमा कम्युनिष्ट थिएनन्। उनीहरूले अरूको विरोध नगरी एमालेको मात्रै विरोध गर्छन्। अनि वामपन्थीको एकता हुनुपर्छ भनेर उनीहरूले भन्दा हाम्रा कतिपय साथीहरू हो कि भन्ने गलत बुझाइमा पर्छन्’, अध्यक्ष ओलीले भने,‘कम्बोडियामा मेरो रु ३२ अरब लगानी छ भनेर हल्ला फिँजाउने पुष्पकमल दाहाल ‘प्रचण्ड’ हो। त्यसको पछि लाग्नेहरू माधव नेपाल र झलनाथ खनालहरू हुन्। माधव र झलनाथले पार्टी प्रमुख हुँदा प्रभावकारीरुपमा चलाउन सकेनन्। पछिसम्म पार्टी चाहिँ कब्जामा लिएर बस्न खोजे। हामीले निकम्बा, बेठिक र परनिर्भर नेतृत्व विस्थापन गरेर समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका साथ पार्टीलाई अगाडि बढाउँदा त्यस्ताहरूलाई चित्त बुझेन अनि हामी विरुद्ध षड्यन्त्रमा लागेका छन्। देशी विदेशी प्रक्रियावादीहरुले हामीलाई लडाउन खोजेका छन्, त्यसमा सजग भएर आपसी द्वन्द्व र खिचातानीका प्रवृत्तिमा हामी जान हुँदैन। यो कुरा हामीले जनतासमक्ष बुझाउनुपर्छ।’
राजतन्त्र फर्कने कुनै आधार नभए पनि प्रतिगामी तत्त्वहरू सल्बलाउँदा एमालेहरूको मनोबल गिर्न नहुने उल्लेख गर्दै उहाँले लाज नमानीकन जनतालाई रैती हुन पाउँ भन्नेहरूले फैलाउने भ्रम चिर्न आग्रह गर्नुभयो। अध्यक्ष ओलीले प्रतिगामीहरूले जेठ १५ गते गर्ने प्रदर्शनको विपक्षमा तयारी रहन पनि निर्देशन दिए।
अहिले भ्रष्टाचारीहरू र सहकारी पीडितले उल्टै भ्रष्टाचारको विरोध र सहकारीलाई न्याय दे जस्ता आवाज उठाएर जनतामा भ्रम छरेको पनि अध्यक्ष ओलीको भनाइ थियो।

प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रले २०६४ सालमा आफ्ना लडाकु क्याम्पमा राखेर र मार्च पास गराएर जनतालाई तर्साएर आतङ्कको राज गरेकाले त्यस बेला आफूहरू पराजित भए पनि माओवादीले २०६४ सालको जस्तो परिणाम ल्याउने सपना देख्नुमा कुनै दम नभएको स्पष्ट गरे।