सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटकीय विकासको लागि विभिन्न ठाउँलाई ब्रान्डिङ गर्नुपर्ने बताएका छन्। 

आइतबार राष्ट्रिय समाचार समिति (रासस) को फोटो प्रदर्शनी शुभारम्भ समारोहमा बोल्दै उनले पर्यटनका लागि अन्तर्राष्ट्रियरुपमा देखिने गरी ब्रान्डिङ गर्नुपर्ने औँल्याएका हुन्। उनले पर्यटकीय पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए। 

उनले भने, ‘पर्यटनको लागि प्राकृतिक, सांस्कृतिक र साहसिक रूपमा ब्रान्डिङ गर्नुपर्छ। रारा, फेवाताल, खप्तड, शैलुङलाई ब्रान्डिङ गर्नुपर्‍यो। कुन कुन ठाउँलाई ब्रान्डिङ गर्ने अन्तर्राष्ट्रिय रूपमा देखिने गरी ब्रान्डिङ गरी पूर्वाधार निर्माण गर्न सकियो त्यसैमा निर्धारित नीति निर्माण बनाउनुपर्छ। जसले गर्दा पर्यटकीय क्षेत्रमा विकास गर्न सकिन्छ।’ 

उनले पछिल्लो समय सम्बन्धित निकायहरूमा कामभन्दा बढी कुरामा व्यस्त रहने संस्कार भएको भन्दै यसबाट मुलुकको विकास नहुने बताए। 

‘हाम्रो एउटा संस्कार छ, सबै आजित छौ। असाध्यै धेरै कुरा गर्छौ, असाध्यै धेरै भाषण भूषण गर्छौ। काम चाहिँ थोरै गर्छौ। सम्बन्धित नीति र कार्यक्रमहरू पनि कम बनाउँछौँ। यही गतिले जाने हो भने हामीले खोजेको गन्तव्यमा पुग्न सक्दैनौँ। हामीमा काम गर्ने संस्कार भन्दा पनि भेला, गोष्ठी बढी गर्छौ। तर पाइला चाल्ने काम कम गर्छौ। यसबाट हाम्रो मुलुक मुक्त हुनुपर्छ,’ उनले भने। 

यस्तै उनले योजना बनाउनेहरूले मुलुकको आवश्यकता नबुझेको भन्दै विकासमा पुरानो सोचाइ राख्ने गरेको बताए। उनले पर्यटकको विकासका लागि बजेट निर्माण पछाडि पारेको बताए।