सुनसरीको बराहक्षेत्र नगरपालिका–३ मा जेठ १० गते बेलुका प्रहरीले गोली चलाएको छ। घटनामा एक जना घाइते भएका छन्।
लागुऔषध गाँजाको ओसारपसार भइरहेको सूचनाका आधारमा खटिएको गस्ती टोलीले गोली चलाएको हो। गाँजाका पोका बोकेर आउँदै गरेका व्यक्तिलाई रोक्ने क्रममा गोली चलाइएको प्रहरीले जनाएको छ।
एक व्यक्तिले प्रहरीमाथि खुकुरीले आक्रमण गर्न खोजेपछि गोली चलाउनुपरेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। सुरुमा दुई राउन्ड हवाईफायर गरिएको र पछि आत्मरक्षाका निम्ति थप गोली चलाउनु परेको प्रहरीको भनाइ छ।
गोली हानेर बराहक्षेत्र–३ का ५५ वर्षीय रामप्रसाद लिम्बूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घुँडादेखि तलको भागमा गोली लागेका लिम्बूलाई उपचारका निम्ति धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ।