गृहमन्त्री रमेश लेखकले देशमा शान्ति, सुरक्षा नभए अरू कुनै कुराको सम्भावना नरहने बताएका छन्।
शुक्रवार जनकपुरधाममा आयोजित मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री लेखकले विकास निर्माण, समृद्धि र सुशासन कायम गर्न सबैभन्दा पहिला चाहिने कुरा भनेको शान्ति सुरक्षा रहेको उल्लेख गरे।
उनले सीमा नाकासँग जोडिएका क्षेत्रहरूमा सबैभन्दा बढी चोरी पैठारी हुने गरेको देखिएको बताए।
चोरी पैठारीका कारण राजस्व घट्नुका साथै आन्तरिक व्यापार कमजोर हुँदै गएको र सीमा नाकामा आपराधिक घटनाहरू पनि बढ्दै गएको जानकारी दिएका छन्।
सीमा नाकासँग जोडिएका समस्याहरू समाधान गर्न सम्पूर्ण सुरक्षा निकायलाई गम्भीर भएर लाग्न गृहमन्त्री लेखकले निर्देशन दिए।
कार्यक्रममा मधेस प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले मधेस प्रदेशका सुरक्षा निकायहरूमा काम गर्ने नेपाल प्रहरी, नेपाली सेना र सुरक्षाकर्मीहरूलाई थप सुविधा प्रदान गर्न आवश्यक रहेको बताए।

उनले सुरक्षाकर्मीहरूलाई उचित आवास र खाना खाने ठाउँसमेत राम्रो नभएका कारण समस्या भोग्नु परेको सुनाए। उनले केन्द्र सरकारले सुरक्षाकर्मीहरूलाई उचित सुविधा प्रदान गर्न बजेट विनियोजन गर्न गृहमन्त्री रमेश लेखकलाई आग्रह गरे।
त्यस्तै, मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रहरी समायोजन नभएका कारण प्रदेश सरकारले चाहे जस्तो काम गर्न नसकिरहेको गुनासो गरे।
उनले विगतमा आफूले अनुगमन गरेर बन्द गर्न निर्देशन दिएका दर्ता नभएका र मापदण्ड विपरीत अस्पतालहरू केही दिन पछि फेरि सञ्चालन गरेको पाइएको गुनासो गरेका छन्।
गृहमन्त्री लेखकले लागु औषध, सवारी दुर्घटना, आत्महत्या, साइबर क्राइम जस्ता समस्यालाई समाधान गर्न आवश्यक रहेको र यसमा प्रदेशका सम्पूर्ण सुरक्षा निकायले सक्रियताका साथ लाग्नुपर्ने धारणा राखे।
गोष्ठीमा मधेस प्रदेशका ८ वटै जिल्लाका सम्पूर्ण सुरक्षा निकायका पदाधिकारीहरूको उपस्थिति रहेको छ।