सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले सामाजिक, आर्थिक र राजनीतिक हिसाबले नेपालमा महिला सशक्तीकरणको क्षेत्रमा ठुलो प्रगति भएको बताएकी छिन्।
शुक्रवार काठमाडौँमा आयोजित कार्यक्रममा उनले पछिल्लो तीन दशकमा नेपालले थुप्रै प्रगति गरेको र त्यसमध्ये लैङ्गिक समानता, महिला सशक्तीकरण र सूचना प्रविधिको क्षेत्रमा रूपान्तरण भएको बताइन्। 
उनले भनिन्, ‘पछिल्लो तीन दशकमा नेपालले सामाजिक, आर्थिक र राजनीतिक हिसाबमा लैङ्गिक समानता र महिला सशक्तीकरणको क्षेत्रमा ठुलो प्रगति हासिल गरेको छ। वर्तमान समयमा पनि नेपालले सञ्चार र सूचना प्रविधिको क्षेत्रमा प्रमुख रुपान्तरणहरु हासिल गरेको छ। साथै नेपाली महिलाहरू पनि अगाडि बढ्दै गएका छन्। तर अझै पनि चुनौतीहरूको सामना गर्नुपरेको छ।’
यस्तै, उनले धेरैभन्दा धेरै महिलाहरूलाई प्रविधिको क्षेत्रमा ल्याउन आवश्यक रहेको भन्दै यसबारे नीति बनाएर अगाडि बढ्नुपर्ने बताइन्। 
उनले भनिन्, ‘धेरैभन्दा धेरै महिलाहरूलाई प्रविधिको क्षेत्रमा ल्याउन आवश्यक छ। यसबारे नीति बनाएर अगाडि बढ्नुपर्छ। महिलाहरूको विचार, सिर्जनात्मकता, रचनात्मकता र आवाज भविष्यका लागि आवश्यक छ।’
पुरुष र महिला दुवैको काम, नेतृत्व, योगदान उद्योग र नवप्रवर्तनमा अत्यन्त आवश्यक भएको पनि उनको भनाइ छ।