नेपाल जेसीज २०२५ की राष्ट्रिय अध्यक्ष रजनी थापाले क्रिएटिव युथ इन्ट्रेप्रेन्योर (C.Y.E.) र पब्लिक स्पिकिङ इन्टरनेशनल फोरम कार्यक्रमका लागि युवा व्यवसायीहरूबीच प्रतिस्पर्धात्मक छनोट प्रक्रिया सञ्चालन गरिने जानकारी दिएकी छन्।
उनका अनुसार प्रतियोगिताबाट छानिएका विजेतालाई अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा सहभागी हुन सम्पूर्ण खर्च नेपाल जेसीजले व्यहोर्नेछ। यसमा दुईतर्फी यात्रा खर्च तथा दर्ता शुल्क समेत समावेश हुने अध्यक्ष थापाले बताइन्।
“देशभरिका जेसीज सदस्य युवा व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुतीकरण गर्ने अवसर प्रदान गर्न हामीले यो प्रतियोगिता आयोजना गर्न लागेको हौं,” अध्यक्ष थापाले भनिन्, “यो एक ऐतिहासिक अवसर हो, जसले नेपाली युवाहरूको प्रतिभा विश्वसामु चिनाउनेछ।”
कार्यक्रमको मिति र आवेदन विवरण चाँडै सार्वजनिक गरिने अध्यक्ष थापाले बताइन्।नेपाल जेसीजले विगत वर्षहरूमा पनि यस्ता कार्यक्रममार्फत युवाहरूको क्षमता अभिवृद्धिमा उल्लेखनीय भूमिका खेल्दै आएको छ।अध्यक्ष थापा चिया गफ अन्तरक्रिया कार्यक्रमका लागि बेलबारी जेसिजको निमन्त्रणामा बेलबारी आएकी थिइन्। कार्यक्रमका क्रममा उनले बेलबारी जेसिजका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा सक्रिय सहभागिताको आह्वान गरिन्।