संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले समुदायहरूमा आएको तीव्र परिवर्तनका कारण हाम्रा संस्कृति, इतिहास र सम्पदाहरू लोप हुने खतरा बढ्दै गएको बताएका छन्। 
आइतबार,विश्व संग्रालय दिवस २०२५ को अवसरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पाण्डेले समाज परिवर्तनशील हुँदै गइरहेको भए पनि विगतका संस्कृति र इतिहासलाई संरक्षण गर्नु अत्यन्त आवश्यक भएको उल्लेख गरेका हुन्। तीव्र बसाइँसराइ र सामाजिक रूपान्तरणका कारण संस्कृति तथा सम्पदाको संरक्षण चुनौतीपूर्ण बन्दै गएको पनि उनले बताए।
मन्त्री पाण्डेले संग्रालयहरू केवल वस्तुहरूको सङ्ग्रहालय नभई, ती हाम्रा पहिचान र भावनाको प्रतिनिधित्व गर्ने थलो भएको धारणा व्यक्त गरे। उनले भने, ‘हामीसँग रहेका सम्पदाहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा उचित सम्मान र चर्चा पाउनु पर्छ। संग्रालय र सम्पदा संरक्षणका लागि सरकार प्रतिबद्ध छ।’ 
उनले संग्रालयको महत्त्व र गरिमालाई मूर्त तथा अमूर्त रूपमा संरक्षण गर्नुपर्ने मूल सन्देशलाई आत्मसात गर्न आवश्यक रहेको धारणा व्यक्त गरे। साथै, काठमाडौँ उपत्यकामा नेवार समुदायले आफ्नो संस्कृति जोगाइराख्न सफल भएकोमा खुसी व्यक्त गर्दै त्यसलाई उदाहरणीय अभ्यासको रूपमा उल्लेख समेत गरे।