मोरङ बेलबारी स्थित एलएक्स सिटी एफसीले राजारानी, धनकुटामा जारी १२औं गोरखा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ। शनिबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा एलएक्स सिटीले चर्च ब्वाइज युनाइटेडलाई सडन डेथसम्म धकेलिएको रोमाञ्चक पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो।


निर्धारित ९० मिनेटको खेल २–२ को रोमाञ्चक बराबरीमा टुंगिएको थियो। चर्च ब्वाइजका समीर तामाङले दुई गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, खेलको अन्तिम मिनेटमा एलएक्स सिटीले पाएको पेनाल्टीमा छिरिङ गुरुङले गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसपछि खेल टाइब्रेक हुँदै सडन डेथमा पुगेको थियो।


पेनाल्टी सुटआउटमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरे तापनि अन्ततः समीर तामाङले निर्णायक प्रहार चुकाएपछि एलएक्स सिटीले जित हात पार्‍यो। एलएक्स सिटीका गोलकिपर विवेक मगरले निर्णायक बचत गर्दै टोलीलाई जित दिलाए साथै ‘प्लेयर अफ द म्याच’को उपाधि पनि जिते।


अब एलएक्स सिटी एफसीले उपाधिका लागि बिर्तामोड युनाइटेड एफसीसँग फाइनल खेल्नेछ। उपाधि भिडन्त आइतबारका दिन हुनेछ। प्रतियोगिताको विजेताले ७ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख रुपैयाँ हात पार्नेछ।