दक्षिण कोरियाको संवैधानिक अदालतले राष्ट्रपति युन सुक–योलमाथिको महाभियोग सदर गर्दै पदबाट बर्खास्त गरेपछि कोरियाली जनताहरुले विभिन्न प्रतिक्रिया दिइरहेका छन्। 
अदालतका कार्यवाहक प्रमुख मुन ह्युङ–बेले युनको महाभियोगको फैसला पढेर सुनाए लगत्तै दक्षिण कोरियालीहरूले निर्णयप्रति उत्सव र निराशा दुवै व्यक्त गरिरहेका छन्।
सरकार विरोधी प्रदर्शनकारीहरूले यो नतिजालाई सार्वजनिक विश्वास पुनर्स्थापित गर्ने दिशामा एक कदमको रूपमा हेरेका छन्। त्यस्तै युनका समर्थकहरूले यसलाई लोकतान्त्रिक सिद्धान्तहरूमाथि प्रहारको रूपमा हेरेका छन्। 
राष्ट्रपति योलले गत डिसेम्बर ३ मा देशमा सैनिक कानुन लागू गर्ने घोषणा गरेका थिए। तर संसद्मा व्यापक विरोध भएपछि दुई घण्टामै घोषणा फिर्ता लिन बाध्य भएका थिए।
शुक्रवार संवैधानिक अदालतले महाभियोग सदर गरेपछि उनी राष्ट्रपतिबाट हटेका हुन्। अब ६० दिन भित्र तुरुन्तै राष्ट्रपति चुनाव गर्नुपर्ने देखिन्छ।