विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा आरोहणको ७० वर्ष पुगेको अवसरमा हीरक महोत्सव मनाइने भएको छ।
आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा कञ्चनजङ्घा आरोहणको ७० औँ वार्षिक उत्सव अर्थात् हीरक महोत्सव मनाउन लागिएको जानकारी दिएको हो।
परिषद्ले सदरमुकाम फुङ्लिङमा २०८२ साल वैशाख ५ देखि ७ गतेसम्म तीन दिन कञ्चनजङ्घा हीरक महोत्सव मनाइने जानकारी दिएको हो।
कञ्चनजङ्घा हीरक महोत्सव परिषद्को मुख्य कार्यालय रहेको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपमा आयोजना गरिनेछ।
कञ्चनजङ्घा संरक्षण क्षेत्रमा रहेका पर्यटकीय स्थलहरूको प्रचारप्रसार गरी पर्यटन विकास र प्रवर्धन गर्ने उद्देश्यले हीरक महोत्सव आयोजना गर्न लागिएको परिषद्ले जनाएको हो।
परिषद्का अनुसार महोत्सवमा कञ्चनजङ्घा संरक्षण क्षेत्र भ्रमणका लागि पदयात्रा गर्न आह्वान गर्ने, यहाँको पर्यटकीय गन्तव्य तथा स्थलको फोटो प्रदर्शनी, स्थानीय समुदायको संस्कार र संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादनको प्रवर्द्धन र प्रचार, खाद्य परिकारको प्रदर्शनीजस्ता गतिविधि हुनेछन्। यस्तै, खुला पुरुष भलिबल प्रतियोगिता पनि सञ्चालन गरिने छ।
पर्वतारोहण गतिविधिलाई थप व्यवस्थित र सुव्यवस्थित गर्न पदयात्रा र पर्वतारोहणमा नयाँ प्रविधि, सुरक्षा उपाय, पर्यावरण मैत्री अभ्यास, पर्वतीय खेलकुद, आरोहण अनुमति, शुल्क र अन्य क्षेत्रमा नेपाल सरकार, पर्वतारोहण सङ्घहरू र स्थानीय सरोकारवालाहरूबीच छलफल गर्न सहजीकरण गर्ने पनि परिषद्ले जानकारी दिएको छ।
कञ्चनजङ्घाको पहिलो आरोहणको ऐतिहासिक ७० औँ वार्षिकोत्सव वैशाख ११ गते अलफ्ट होटल काठमाडौँमा मनाइनेछ। कार्यक्रममा सरकारी नेता, अन्तर्राष्ट्रिय संस्था, पर्वतारोही, सञ्चारमाध्यम र निजी क्षेत्रको सहभागिता रहनेछ।