नेपालबाट विगतमा चोरी भएर अमेरिका पुगेका २१ वटा पुरातात्त्विक महत्वका कलात्मक वस्तुहरू आज नेपाल फिर्ता भएका छन्।
आइतबार पुरातत्त्व विभाग काठमाडौंंले विशेष कार्यक्रमको आयोजना गरी चोरी भएर अमेरिका पुर्याइएका २१ वटा पुरातात्त्विक महत्वका कलात्मक वस्तुहरू सार्वजनिक गरेको हो।
विभागका अनुसार यीमध्ये तीन वटा पौवा चित्रहरू (१५–१८ औँ शताब्दी) काठमाण्डौंस्थित इटुम्बहालबाट २०३७ सालमा हराएका थिए भने एउटा प्रस्तरबाट निर्मित स्थानका बुद्धको मूर्ति (नवौंं शताब्दी) बुङमतिको मच्छिन्द्रवहाल परिसरको चैत्यबाट हराएको थियो।
साथै आर्ट इन्स्टिच्यूट सिगागोबाट फिर्ता भएको पाटनको गुइत टोलको गुइत चैत्यको प्रस्तरको मुछलिन्द बुद्धको मूर्ति थान–१ (१२/१३ औँ शताब्दी) तथा अन्य १६ थान कलात्मक वस्तुहरू (९–१९औँ शताब्दी) पनि नेपालका विभिन्न ठाउँबाट हराएर अमेरिका पुगेका थिए।
अमेरिकाको विभिन्न सङ्ग्रहालय, अक्सन हाउस तथा व्यक्तिगत सङ्ग्रहमा रहेका उक्त वस्तुहरू संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित US Department of Homeland Security Investigation New York, Manhattan District Attorney Office of New York को सहयोगमा संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित नेपाली वाणिज्य दूतावासका कार्यवाहक महावाणिज्यदूत चक्रकुमार सुवेदीलाई एक समारोहबीच मिति २०८१।११।१६ मा हस्तान्तरण गरिएको थियो।
यी कलात्मक वस्तुहरूको उत्पत्ति स्थल नेपाल भएको भनी यस विभागबाट प्रमाणित गरेपछि अन्तर्राष्ट्रिय कानुन अनुसार नेपाल फिर्ता भएका हुन्।
यी कलात्मक वस्तुहरू अमेरिकाबाट नेपालसम्म ल्याउने कार्यमा न्यूयोर्कस्थित नेवा: गुठीले आर्थिक सहयोग गरेको विभागले जनाएको छ।