नेकपा (एमाले) का सांसद रघुजी पन्तले नेकपा एमाले वर्तमान संविधानको रक्षाको लागि सधैँ कटिबद्ध रहेको बताएका छन्।
आइतबार संसद् बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद पन्तले संविधानलाई रक्षा गर्न र विकास गर्न एमाले लागि परिरहेको बताएका हुन्।
उनले भने, ‘नेकपा एमाले वर्तमान संविधानको रक्षाको लागि सधैं कटिबद्ध छ। यो संविधानलाई रक्षा गर्न, यसलाई विकास गर्न र संविधानलाई विकसित रुप दिन लागि परिरहेको छ।’
साथै उनले प्रतिपक्षहरूका कारण संसद् बैठकमा अवरोध आइरहेको बताए। उनले चैत १५ गतेको दिन काठमाडौँमा भएको घटनाबारे देशलाई जानकारी दिन संसद् मार्फत गृहमन्त्रीले जानकारी दिन पाउनुपर्ने बताए।
‘प्रतिपक्षले बोल्न पाउनुपर्छ। तर प्रतिपक्षले बोल्ने कुराहरूमा पनि उठाएका आवाजहरूमा दम हुनुपर्‍यो। आधार हुनुपर्‍यो। चैत १५ गतेको दिन देशमा यत्रो घटना भएको छ, सो घटनाको बारेमा आज आएर देशलाई जानकारी दिन पाउनुपर्छ की पर्दैन गृहमन्त्रीले ? प्रधानमन्त्रीले त भनिसक्नुभयो १८ गते संसदमा आउँछु भनेर। तर प्रधानमन्त्रीले आउँछु भन्दाभन्दै हाउस रोक्नु उचित होइन। १५ गतेको घटनाबारे गम्भीरतापूर्वक छलफल गरौँ। संविधानमाथि आक्रमण भएको छ। संविधानलाई उल्ट्याउने कोशिस भएको छ। सरकार चुकेको छैन। शान्तिपूर्ण ढङ्गले आमसभा गर्ने भनेर राजावादीले यस्तो उग्र रूप लिए।’