राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले अस्तु पनि नभेटिने मार्क्स, लेलिन र माओको कुरा गरेर जनतालाई उल्लु बनाइसकेको टिप्पणी गरेका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजा फर्किँदैनन् भन्नेहरूले जनतालाई मार्क्स, लेलिन र माओको नाममा उल्लु बनाइरहेको बताएका हुन्।
उनले भने ‘राजा गइसक्यो, फर्किँदैन भन्नुहुन्छ। गइसकेको राजा फर्किँदैन भने अस्तु पनि नभेटिने मार्क्स, लेलिन र माओको खोज्यो भने अस्तु पनि भेटिँदैन। त्यो चाहिँ कसरी फर्किन्छ र जनतालाई उल्लु बनाइराख्नु भएको छ ? हाम्रो राजालाई हामी नेपाली जनताले राष्ट्रिय झण्डामा स्वागत गरेको हो। कसैका विरुद्धको आन्दोलनमा होइन। स्वागत गर्दा खेरी त मुटु हल्लियो, कलेजो थर्कियो, धर्ती फाट्यो, आकाश फुट्यो भने तपाईँहरूको विरुद्ध आन्दोलन गर्नुपर्यो भने हालत के हुन्छ। यो कुरा याद गरेर संसद्मा आवाज उठाइदा विचार पुर्याइयोस्।’
साथै, पूर्वराजालाई राष्ट्रिय झण्डामुनि स्वागत गर्दा दलहरूको मुटु, कलेजो हल्लिएको उनले टिप्पणी गरे।