रौतहटका अधिकांश स्थानीय तहमा वरुण यन्त्र (दमकल) आवश्यकता भन्दा कम हुँदा आगलागीका घटना समस्या हुने गरेको छ।
अहिले हावाहुरीको मौसम भएकोले आगलागीका घटना भइहालेमा नियन्त्रण गर्नका लागि यहाँ दमकलको अभावले अधिक क्षति हुने गरेको देखिएको हो।
गाउँमा अधिकांशको फुसको कच्ची घर हुने भएकाले अगालागीको घटनामा धेरै क्षति हुने गरेकाले समयमा नै जनप्रतिनिधिले यसतर्फ ध्यान दिनुपर्ने कटहरियाका प्रकाश श्रेष्ठले बताए।
नगरपालिकाको बजेटबाट आफ्नो प्रयोगका लागि साधन खरिदमा जनप्रतिनिधिले चासो दिएपनि दमकल खरिदतर्फ चासो नदिएको उनको आरोप छ।
१८ स्थानीय तहमध्ये तीन/चार वटा नगरपालिका बाहेक अन्यसँग दमकलको अभाव छ। चन्द्रपुर ,गौर र गरुडा लगायतसँग दमकल भएपनि विभिन्न कारणले समयमा घटनास्थलमा नपुग्ने गरेको स्थानीयको आरोप छ।
जिल्लामा वारुणयन्त्र कम हुँदा आगलागीका घटनामा समस्या भइरहेको र यसतर्फ पालिकाले चासो दिनुपर्ने रौतहटका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले बताए। एउटा पालिकाले मात्र वारुणयन्त्र खरिद गर्न नसकेमा मिलेर खरिद गर्न उनले आग्रह गरे।
नेपाल सरकारले प्रत्येक नगरपालिकामा दमकल राख्नुपर्ने नीतिसमेत रहेकाले सबै स्थानीय तहलाई तत्काल दमकल खरिदको प्रक्रिया थाल्न उनले सुझाव दिए।
सबै नगरपालिका तथा गाउँपालिकाले आगलागी नियन्त्रणका उपकरण खरिद, अग्नि नियन्त्रण योजना, आपत्कालीन सन्देश प्रवाह पद्धतिबारे नयाँ योजना ल्याउन आवश्यक रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।