नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजा महाराजालाई नेपाली जनताले इतिहासको विषय बनाई सकेको बताएका छन्।
मङ्गलवार २७ औँ सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा आयोजित सहिद परिवार अभिनन्दन तथा जनसांस्कृतिक राष्ट्रिय सम्मान समारोहमा उनले पहिलेका राजा महाराजाहरूलाई इतिहासको विषय बनाइसकेको नेपाली जनता, नेपाल र नेपालको संविधानले फेरि अर्को मूर्खता गर्न नहुने भन्दै यस्तो काम भएमा निकै ठुलो मूल्य चुकाउनुपर्ने बताए।
जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाएको संविधानमाथि प्रश्न उठाउने प्रयास र दुश्साहस भएको पनि उनको भनाइ छ।
उनले भने, ‘नेपालको संविधानले पहिलो पटक इतिहासमा नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न गरेको छ। यो सबैभन्दा ठुलो ऐतिहासिक उपलब्धि हो। जसले जनतालाई व्यक्ति, राजा महाराजा र तानाशाहाको हातबाट खोसेर सार्वभौम अधिकार जनताको हो भन्ने मान्यता स्थापित गरेको छ। आज यहीमाथि केही मानिसहरूले प्रश्न उठाउने प्रयास र दुश्साहस गरेका छन्। पहिलेका राजा महाराजाहरू जसलाई इतिहासको विषय बनाई सकेको छ नेपाली जनताले, नेपाल र नेपालको संविधानले फेरि अर्को मूर्खता नगरौँ त्यसो भयो भने त्यसले निकै ठुलो मूल्य चुकाउनु पर्ने अवस्था आउन सक्छ।’
उनले लामो सङ्घर्ष र बलिदानपछि, संविधान सभा मार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणाको ठाउँसम्म आई पुगेको भन्दै यसैको बलिदानको फलको रूपमा नयाँ संविधान बनेको पनि उल्लेख गरेका छन्।
यसको साथै, उनले आज सांस्कृतिक अभियानबाट सुरु भएको यो संयुक्त कार्यक्रमको प्रक्रियालाई पार्टीगत रूपमा पनि एउटा बिन्दुमा पु¥याउनु पर्ने भन्दै त्यसको लागि आफ्नो ठाउँबाट खेल्ने भूमिका इमानदारिताका साथ निभाउने बताए।
उनले भने, ‘हामीले सांस्कृतिक अभियानबाट सुरु भएको यो संयुक्त कार्यक्रमको प्रक्रियालाई पार्टीगत रूपमा पनि एउटा बिन्दुमा पु¥याउनु नै पर्छ। म आज तपाईँहरूको अगाडि सङ्कल्पसहित घोषणा गर्न चाहन्छु छिटै नै क्रान्तिकारी माओवादी धाराहरू जो वैज्ञानिक समाजवादप्रति इमान्दार भएर अन्तिम समयसम्म लड्न तयार छन्। उनीहरू छिटै एकताबद्ध हुनेछन् मैले त्यसको लागि आफ्नो ठाउँबाट खेल्ने भूमिका म इमानदारिताका साथ खेल्ने छु भन्ने विश्वास व्यक्त गर्न चाहन्छु।’
आजको कार्यक्रमले पक्कै पनि एउटा सकारात्मक एकताको सन्देश र फेरि एउटा नयाँ ध्रुवीकरणको अभियानको लागि सङ्कल्पको सङ्केत गरेको पनि उनको भनाई छ।