महोत्तरीको पडौल बजार तनावग्रस्त बनेको छ। शनिवार राति भएको चोरी घटनाविरुद्ध स्थानीय व्यापारीहरू आन्दोलित हुँदै बजार बन्द गराएका छन्।
बलवा नगरपालिका–३ पडौल बजारमा रहेको शिवशान्ति ज्वेलर्सको ताल्चा फोडेर लाखौँको गरगहना चोरी भएको घटनामा स्थानीय प्रशासन र जनप्रतिनिधिको लापरबाही रहेको भन्दै व्यापारीहरू टायर बालेर प्रदर्शनमा उत्रेका छन्।
शनिवार बजारमै रहेको शिवशान्ति ज्वेलर्समा चोरी भएको थियो। चोरले पसलमा रहेको २० तोला सुन, १ लाख ५० हजार नगद, पसलमा राखिएको भोल्ट (लकर), क्यामराको हार्डडिस्क चोरी गरेर लगेको सञ्चालक अरुण कुमार साहले बताएका छन्।
सुन पसलमा लागेको सिसिटिभी क्यामराको हार्डडिस्क चोरहरूले लगेपछि नजिकै रहेको अन्य क्यामरामा चोरी गर्न प्रयोग भएको जीप र चोरीमा संलग्नहरूको भिडियो कैद भएको छ।
बजारको अन्य ठाउँमा लागेको सिसिटिभी क्यामेरा सञ्चालनमा नरहेको भन्दै व्यापारीहरूले स्थानीय तहका पदाधिकारी र प्रशासन विरुद्ध नाराबाजी गर्दै बजार बन्द गराएका छन्।