राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एसियाली खेलकुदमा स्वर्ण सहित दोहोरो पदका लागि सुरु गरिएको मिसन २०२६ खेलकुदको महत्त्वपूर्ण अभियान भएको बताएका छन्। 
मिसन २०२६ को समीक्षा बैठकमा सदस्य सचिव घिसिङले एसियाली खेलकुदमा पदक ल्याउने प्रयास देशकै अभियान भएको उल्लेख गरेका हुन्।
राष्ट्रिय खेलकुद परिषद्ले सन् २०२६ मा जापनमा आयोजना हुने २०औ एसियाली खेलकुदमा स्वर्ण सहित दोहोरो पदकका लागि सञ्चालन गरेको विशेष प्रशिक्षणको समीक्षा कार्यक्रममा समस्या समाधानका लागि सामूहिक प्रयास आवश्यक हुने बताए। प्रशिक्षणका क्रममा हुने समस्याको समाधान तत्काल गर्न निर्देशन दिए।
कार्यक्रममा विशेष प्रशिक्षणका प्रशिक्षकहरूले खेलाडीमा खेल क्षमता वृद्धि हुँदै गएको प्रतिवेदन पेस गरेका थिए। राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले समीक्षा बैठकले आगामी दिनमा प्रशिणलाई थप व्यवस्थित गर्न मार्गदर्शन गर्ने उल्लेख गरे।
हाल विशेष प्रशिक्षणमा ११ खेलका ९९ जना खेलाडी विशेष प्रशिक्षणमा छन्। ४६ जना महिला र ५३ जना पुरुष खेलाडीहरूलाई २२ जना प्रशिक्षकहरूले प्रशिक्षण दिइरहेको निर्देशक दीपक विष्टले जानकारी दिएका छन्।
विशेष प्रशिक्षणमा कराते, बक्सिङ, उसु, जुडो, पुरुष/महिला कबड्डी, महिला भलिबल, गल्फ, कुस्ती, एथलेटिक्स, तेक्वान्दो र पारा तेक्वान्दोका खेलाडीहरू विशेष प्रशिक्षणमा छन्।