एम्बुलेन्सको ठक्करबाट एक जना अटो चालकको मृत्यु भएको छ।
जनकपुर–ढल्केवर सडक खण्डमा आइतबार साँझ एम्बुलेन्सको ठक्करबाट अटो रिक्सा चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।
जनकपुर न्यूरो हस्पिटलबाट बिरामी लिएर काठमाडौँ जाँदै गरेको स १ च १३९२ नम्बर एम्बुलेन्स लक्ष्मिनियाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ज १ स ३४८७ नम्बरको ई रिक्सालाई रमदैया वाटर पार्क अगाडि ठक्कर दिँदा रिक्सा चालक लक्ष्मिनिया गाउँपालिका ७ का सुरेश यादवका छोरा २४ वर्षीय अर्जुन यादवको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक नितेश कुमार सिंहले जानकारी दिए।
उनका अनुसार रिक्सामा सवार लक्ष्मिनिया ७ कै २० वर्षीय शिवम साह र सतीश सदा घाइते भएका छन्। घाइतेहरूको राम जानकी मेडिकल कलेज रमदैयामा उपचार भइरहेको छ।
एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिइएको छ। एम्बुलेन्समा रहेको बिरामीलाई अर्को एम्बुलेन्सबाट काठमाडौँ पठाइएको प्रहरी निरीक्षक सिंहले बताए।