मुख्य राजनीतिक दल निकट मजदुर सङ्गठनहरूले होटल एसोसिएसन नेपाल (हान) लाई ध्यानाकर्षण पत्र बुझाएका छन्।
आइतबार काठमाडौँको गैरिधारामा हानका प्रमुख कार्यकारी अधिकृत (सिइओ) टेकेन्द्र बहादुर महतलाई ध्यानाकर्षण पत्र बुझाउँदै आगामी चैत २५ गतेसम्मको अभियानात्मक कार्यक्रम सार्वजनिक गरेका हुन्।
नेकपा ९माओवादी केन्द्र० निकट अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा मजदुर सङ्घका अध्यक्ष कुमार पन्त, नेपाली काँग्रेस निकट नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक सङ्घका अध्यक्ष खेमराज खड्का र नेकपा (एमाले) निकट नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियनका अध्यक्ष लक्ष्मण तिवारीसहितको संयुक्त टोलीले गत वैशाखमा बुझाएको ६ सूत्रीय मागको अहिलेसम्म पनि सम्बोधन नहुनु दुःखद भएको बताए।
हानका सिइओ टेकेन्द्र बहादुर महतले मजदुर अध्यक्षहरूको ध्यानाकर्षण तथा अभियानात्मक पत्र बुझ्दै आफू मजदुरहरूको विषयमा गम्भीर तथा सकारात्मक भएको बताउँदै, उक्त पत्रलाई हानको कार्यसमितिमा पेस गर्ने जनाए।
‘मजदुर सङ्गठनहरूले १७ वर्षदेखि खाइपाई आएको सेवा शुल्क अदालतको फैसलाबाट गुमेको, नियमित काममा नियमित श्रमिक राख्नुपर्ने विषयमा निरन्तररुपमा छलफल गर्दै नेपाल सरकार हानलगायतका सरोकारवालाहरूलाई ज्ञापन पत्र तथा माग पत्र राखी सेवा शुल्कको पुनः प्राप्ति र अन्य श्रमिक पक्षीय कानुनी व्यवस्था गर्न आह्वान गर्दछौँ।’ सो पत्रमा उल्लेख छ।
मजदुरहरूको गुमेको अधिकारहरू र सेवा शुल्क कानुनीरुपमा पुनः प्राप्तिको व्यवस्था नभएसम्म अभियानलाई निरन्तर चलाइरहने मजदुर नेताहरूले जानकारी दिएका हुन्।
सङ्गठनहरूले चैत ४ गतेदेखि देशैभर मजदुर जागरण अभियान सञ्चालन गर्ने साथै प्रधानमन्त्री, अर्थमन्त्री, श्रम तथा सामाजिक सुरक्षा मन्त्री, पर्यटन मन्त्री तथा सबै दलका संसदीय दलको कार्यालयमा ज्ञापन पत्र बुझाउनेदेखि सरोकारवाला पक्षहरूसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन्। त्यसैगरी, चैत २५ गते टे«डयूनियन महासङ्घहरूको उपस्थितिमा काठमाडौँमा विशाल मजदुर सभा गर्ने कार्यक्रम सार्वजनिक गरेका छन्।
त्यसपछि पनि सेवा शुल्क पुनः प्राप्ति हुने गरी कानुनी व्यवस्था गर्ने सुनिश्चितता हुने गरी माग सम्बोधन नभए सशक्त आन्दोलनसहित अर्को चरणको कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्।