प्रधानमन्त्री केपी शर्मा ओलीले विविधतायुक्त संस्कृति र सम्पदालाई राष्ट्रिय एकतामा बाँधेर मुलुकलाई रुपान्तरित गर्नुपर्नेमा जोड दिएका छन्।
मदन भण्डारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजित तीन दिने हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मिलन, २०८१ को समापन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहे प्रधानमन्त्री ओलीले हिमवतखण्ड सम्मिलन हाम्रा संस्कृति, कला, साहित्य, इतिहास र सभ्यताको एउटा मिलन भएको र यहाँ राम्रो मन्थन  भएको आफूले पाएको बताएका हुन्। 
सभ्यता, ज्ञान, योग, दर्शन र संस्कृतिको सुरुवातका यही हिमवतखण्डबाट हुनुको असाधारण महत्त्व रहेको चर्चा गर्दै उनले यस भूखण्ड भौगोलिक, सांस्कृतिक र जैविक विविधताको नमुना भएको बताए। ‘यस्तो गौरवगाथा भएको भूखण्डको पहिचानलाई कसरी संरक्षितसहित अगाडि बढाउने भनेर हामीले साझा सङ्कल्प गर्नुपरेको छ।’, प्रधानमन्त्री ओलीले भने, ‘मानव सभ्यताका छ हजार वर्षका धेरै पुस्ताका इतिहास हामीसँग छन्। ती पुर्खाका योगदान हामीसँग छन्। आजको मानव जातिले आधुनिक खोज अनुसन्धानका साथै पुराना ती सम्पत्तिहरूलाई पेटेन्ट राइट्सका रूपमा संरक्षित गर्नुपर्ने छ। जेनेटिक मेमोरीलाई हामीले पुनः जन्म गराउनुपर्नेछ।’
प्रधानमन्त्री ओलीले हिमवतखण्डको गौरव र नेपाली जनताको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थालाई अगाडि बढाउने सङ्कल्पको भावलाई केन्द्रमा राखेर कार्यक्रम स्थलमै रचित कविता प्रस्तुत गरेका थिए। समापन सत्रमा छानिएका कविहरूले कविता वाचन गरेका थिए।
नेपाल र विदेशका गरी करिब पाँच सय स्रष्टा सहभागी सम्मिलनले १७ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ। यही चैत १ गते पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मिलनको उद्घाटन भएको थियो।