नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन अन्तर्गत आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यालय वनस्थलीमा धर्ना दिएको छ। 
शुक्रवार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय, पेरिस डाँडामा धर्ना दिएका शिक्षकहरूले आज रास्वपा पार्टी कार्यालयमा धर्ना दिएका हुन्।
शिक्षकहरूले मङ्गलवार कांग्रेस केन्द्रीय कार्यालय सानेपा, बुधवार एमाले कार्यालयमा धर्ना दिएका थिए।
दोस्रो चरणको आन्दोलन अन्तर्गत उनीहरूले चैत ५ गतेसम्म विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा धर्ना दिने कार्यक्रम तय गरेका छन्। 
विद्यालय शिक्षा ऐन यही हिउँदे अधिवेशनबाट जारी गर्नुपर्ने शिक्षक महासङ्घको माग रहेको छ।
शिक्षकहरूको स्थायित्व, सेवा सुविधा, बाल विकास कार्यक्रम, विशेष शिक्षा र सरकारी तथा निजी विद्यालयबीचको भेदभाव हटाउनुपर्ने मागसहित महासङ्घ दोस्रो चरणको आन्दोलनमा छ। 
महासङ्घले पहिलो चरणको आन्दोलनपछि पनि ठोस पहल नभएको भन्दै अब सङ्घर्षलाई अझ सशक्त बनाउने चेतावनी दिएको छ। 
पार्टी कार्यालयहरूमा धर्नाको कार्यक्रमपछि सांसदहरूसँग भेटघाट तथा चैत २० बाट पक्षीकरण, काठमाडौँमा रिले अनसन र काठमाडौँ केन्द्रित अनिश्चितकालीन सडक आन्दोलन गर्ने महासङ्घको तयारी छ।