नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिनु देशको हितमा नहुने बताएका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले मुलुकको आर्थिक अवस्था कमजोर रहेको, भ्रष्टाचार नियन्त्रण हुन नसकिरहेको र जनता उपचार नपाएर ज्यान गुमाउने अवस्था देखिइरहेको अवस्थामा पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिने गरी कानुन बनाउन नहुने बताएका हुन्।
उनले भने, ‘अहिले देश आर्थिक दृष्टिकोणले कमजोर अवस्थाबाट गुज्रिरहेको छ। विकास निर्माण र सार्वजनिक सेवा प्रभावकारी बनाउन नसकेको भनेर आलोचना भइरहेको अवस्थामा सरकारले पूर्वविशिष्ट पदाधिकारीहरूलाई आजीवन सुविधा दिने गरी कानुन बनाउन लागेको भन्ने समाचार बाहिर आएको छ। पूर्वराष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्वसभामुख, पूर्वराष्ट्रिय सभाका अध्यक्ष, पूर्वमन्त्रिपरिषद्का अध्यक्षहरूलाई आजीवन भत्ता, घर भाडा, घर मर्मत खर्च र सवारी साधन, सचिवालयको लागि कर्मचारी र सहयोगी राख्नेसहित कानुनको मस्यौदा बन्दै छ भन्ने बाहिर आएको छ। जबकी मुलुकको आर्थिक अवस्था कमजोर अवस्थामा छ।’
साथै उनले भ्रष्टाचार पूर्ण रूपमा नियन्त्रण गर्नुपर्ने बताए। उनले सबै नागरिकहरू रोजगारीका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए।