जनकपुरधाममा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ।
होली खेल्ने क्रममा शनिवार साँझ जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धी चोकमा केही युवकहरुकोबीच भएको विवादले उग्र रूप लिँदा छुरी प्रहार भएको हो।
स्थानीय १९ वर्षीय आँसु यादव माथि छुरा प्रहारबाट घाइते भएपछि उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लैजाँदा चिकित्सकले मृत घोषणा गरेको थियो।
छुरा प्रहार गरेको आरोपमा जनकपुरधाम–२३ का २१ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।
स्थानीयका अनुसार मृतक यादव घरको एक्लो छोरा थिए। उनको बुबाको मृत्यु मात्र ६ महिना पहिला भएको थियो।
धनुषासहित मधेसका अधिकांश जिल्लामा शुक्रवार होली मनाइएको भए पनि जनकपुरधाममा भने शनिवार होली मनाइएको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी वरुणकुमार सिंहले जानकारी दिएका छन्।