मोरङको उर्लाबारीमा तीन वटा सवारी ठोक्किएर दुर्घटना भएको छ।
शनिबार दिउँसो पूर्वपश्चिम राजमार्गको उर्लाबारी खण्डमा सुमो र दुई वटा यात्रुवाहक बस आपसमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा परी १३ जना घाइते भएका छन्।
घाइतेहरुमध्ये ५ जनाको अवस्था गम्भीर रहेकोले उपचारका लागि झापाको बिएण्सी अस्पताल पठाइएको छ। अन्य घाइतेहरूको स्थानीय अरनिको हस्पिटल उर्लाबारीमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जानकारी दिएको छ।
प्रहरीका अनुसार पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ झ २७४९ को सुमो गाडी पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१–ख ४४५६ नम्बरको सगरमाथा यातायातको बससँग ठोक्किएको थियो । सगरमाथा यातायातसँग ठोक्किएको सुमो अनियन्त्रित हुँदै पूर्वतर्फ जाँदै गरेको मे १ ख २५४६ नम्बरको नागरिक यातायातको बससँग पनि ठोक्किएको थियो।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।