समाजवादी मोर्चाले राज्य सञ्चालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको जनाएको छ।
शनिवार पत्रकार समाजवादी मोर्चा, नेपालले पत्रकार सम्मेलन गर्दै भ्रष्टाचार, कमिसन र कालोबजारीले अर्थतन्त्र सङ्कटग्रस्त रहेको भन्दै नेपाली जनताको जनजीविका कहाली लाग्दो अवस्थामा रहेको जनाएको हो।
मोर्चाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकाशमा देखिएको ठहराव र राज्यसत्ताको बागडोर सम्हालेकाहरूको अलोकतान्त्रिक रवैया र गतिविधिका कारण नेपाली जनताका अधिकारहरू एकपछि अर्को कुण्ठित हुँदै गइरहेका छन्। राज्य सञ्चालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको छ। भ्रष्टाचार, कमिसन र कालोबजारीले अर्थतन्त्र सङ्कटग्रस्त छ। नेपाली जनताको जनजीविका कहाली लाग्दो अवस्थामा छ।’
साथै मोर्चाले सरकार बिचौलिया दलालहरूको स्वार्थ सिद्धिमा केन्द्रित रहेको भन्दै सरकारको कुशासन र अस्तव्यस्तताका कारण नेपाली जनतामा एकपछि अर्को असन्तुष्टि र आक्रोश तीव्र रूपमा बढ्दै गएको जिकिर गरेको छ।
यसैगरी समाजवादी मोर्चा, नेपालले काठमाडौँमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति चैत १५ गते संयुक्त विरोध आन्दोलन गर्ने जानकारी दिएको छ। आन्दोलन सफल पार्न सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्तिहरू पत्रकार सम्मेलन मार्फत अपिल पनि गरेको छ।