बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नेपालको सन्दर्भमा हामीले हरेक क्षेत्र सुर्धानुपर्ने बताएका छन्। बागमती प्रदेश हस्तकला सङ्घको पाँचौँ वार्षिक साधारण सभा उद्घाटन समारोहमा बोल्दै उनले सबै क्षेत्र सुधारियो भने मात्रै सकारात्मक दृष्टिकोणबाट कामहरू हुने बताएका हुन्।
उनले भने, ‘नेपालको सन्दर्भमा हामीले हरेक क्षेत्र सुर्धानुपर्ने अवस्था छ। सबै सुधारियो भने मात्रै सकारात्मक दृष्टिकोणबाट कामहरू हुन सक्छन्। हामी सबै सकारात्मक हुनुपर्‍यो। हामी नेपालीहरू झुटो धेरै बोल्ने भयौँ, त्यसैले विदेशीले पत्याउन छोडिसक्यो। हामीले बिस्तारै बिस्तारै झुटो बोल्न छोड्नुपर्छ अनि मात्र नेपाल र नेपालीलाई सबैले पत्याउँछन्।’
साथै उनले उद्योग बिना रोजगारी सिर्जना हुन नसक्ने बताए। उनले उद्योगमा जोड दिएनौँ, पाखा लगायौँ भने झन् बेरोजगार बढ्ने बताए।
उनले भने, ‘उद्योग बिना रोजगारी सिर्जना हुन सक्दैन। रोजगारी सिर्जना गर्ने ठाउँ नै रोजगारी हो। उद्योगमा जोड दिएनौँ भने पाखा लगायौँ भने हामी सबै  बेरोजगार हुन सक्छौँ। रोजगारी सिर्जना हुने कामहरू हामीले गर्न सकेका छैनौँ। खाली हामी रोजगारी भएन सिर्जना मात्र गर्नुपर्छ भनेर बसेका छौँ। अब हामीले उद्योगलाई जोड दिनुपर्छ।’