रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको शैलुङ जङ्गलमा लागेको आगो नियन्त्रण बाहिर गएको छ। 
शुक्रवार बिहानदेखि जङ्गलमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन। डढेलो नियन्त्रण बाहिर गएको स्थानीय राजुराम पाठकले जानकारी दिए।
शुक्रवार टोकरपुरको छाङ खोला जङ्गल नजिकैबाट लागेको आगो अहिले शैलुङ तर्फ प्रवेश गरेको छ, आगोले स्थानीय लालीगुराँस, छहारेछाप पाखा, बुढापानी सामुदायिक वनको जङ्गलमा क्षति पुर्‍याएको छ। 
डढेलो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, स्थानीयलगायत स्थानीय परिचालित भएपनि डढेलो नियन्त्रणमा आउन नसकेको छैन।
शनिवार बिहान डढेलो केही नियन्त्रण भएको भए पनि दिउँसोबाट हावा चल्न लागेपछि आगो पुनः सल्किएको पाठकले बताए। ‘धुवाँको मुस्लो सहित ठुलो वनमा आगो लागेको छ, सहजै नियन्त्रण गर्न सकिने अवस्था छैन’, उनले भने। 
सो डढेलो कसले लगायो भन्नेबारे अझै यकिन हुन सकेको छैन। स्थानीय वन उपभोक्ता समितिको शनिवार बिहान बसेको बैठकले घटनामा संलग्नको खोजी गरी आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउन प्रहरीमा निवेदन गर्ने निर्णय गरेको छ। 
शैलुङको जङ्गल जैविक हिसाबले निक्कै महत्वको जङ्गल मानिन्छ। विभिन्न जातका गुराँस, सल्लो लगायतका रुख, जडीबुटी र जङ्गली जनावर पाइने सो जङ्गलमा आगलागीले ठुलो क्षति हुने भएको छ।