सरकारले सन् २०२५–३५ लाई आन्तरिक रोजगार प्रवर्द्धन दशकको घोषणा गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आज पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले आन्तरिक रोजगार प्रवर्द्धन दशकको शुभारम्भ गरेका हुन्।
कार्यक्रममा राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमको समेत शुभारम्भ भएको घोषणा गरिएको छ। उक्त कार्यक्रमको घोषणा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमशीलताको विकास तीव्रताका साथ गर्न आग्रह गरेका छन्। उनले प्रविधिको प्रयोग गरेर विकास र उद्यमशीलतामा केन्द्रित हुँदै अगाडि बढ्नुपर्ने धारणा राखेका हुन्। 
उनले भने, ‘रोजगारीका अवसरहरू सिर्जना गर्न हामीले उद्यमशीलतालाई जोड दिनुपर्छ। उद्यमशीलता आधुनिकीकरण मार्फत मात्र रोजगारीको सम्भव छ। हामीले कृषिको आधुनिकीकरण गर्‍यौँ भने त्यही बाट थप उद्यमशीलताको सिर्जना हुन्छ।  त्यही बाट आम्दानी बढी हुन्छ। उद्यमशीलताको विकास गरौँ, उद्यमशीलताको विकास  तीव्रताका साथ गरौँ, आधुनिकता तर्फको यात्रालाई तीव्रताका साथ अगाडि लगौँ, उत्पादन, उत्पादकत्व र विकासका लागि विज्ञान र प्रविधिको अधिकतम प्रयोग गरेर हाम्रो सम्पूर्ण जनशक्ति विकासमा केन्द्रित गरौँ।’
साथै उनले उद्यमशीलताको विकास बिना आन्तरिक रोजगारका लागि अवसर प्राप्त नहुने बताए। उनले रोजगार सिर्जना गर्न सरकारभन्दा निजी क्षेत्र बढी क्रियाशील रहने धारणा राखे। उनले समृद्ध नेपाल सुखी नेपाली विकासको भिजन बोकेर सरकार हिँडेको भन्दै राष्ट्रिय आकाङ्क्षा सफल बनाउन सबैलाई एकजुट हुन आह्वान गरे।
उनले भने, ‘आन्तरिक रोजगारी उद्यमशीलताको विकास बिना सम्भव छैन। सरकारी जागिर त सीमित छ। कहिले को रिटायर हुन्छ र एउटा खाली हुन्छ। त्यो पनि लोकसेवाले परीक्षा हुने गरी समानुकुल विज्ञापन आह्वान गर्छ । त्यसैले रोजगारीको सिर्जना गर्न उद्यमशीलताबाट मात्र सम्भव छ।’ 
सोही अवसरमा ट्रेड युनियन कांग्रेसका महासचिव अजय कुमार राईले सम्मेलन सफलताको शुभकामना दिँदै रोजगारी अभिवृद्धिको बहस संसदमा पनि चल्नुपर्ने बताए।
उनले भने,‘रोजगारी अभिवृद्धिको बहस संसदमा पनि चल्नु जरुरी छ। श्रम क्षेत्रलाई राज्यले प्राथमिकतामा राखे मात्र मुलुक समृद्ध हुनेछ,’ उनले अगाडि भने,‘राज्यले श्रमिकहरूको सामाजिक, आर्थिक र राजनीतिक रूपान्तरण हुने नीति ल्याइ कार्यान्वयन गरे मात्र यस्ता खाले सम्मेलनले सार्थकता पाउने छन्।’