नेकपा माओवादी केन्द्रले जनताले रगतको पोखरीमा पौडी खेल्दै गणतन्त्र ल्याएकाले राजा फर्कने कुरा असम्भव रहेको जनाएको छ।
सोमबार बसेको पार्टीको पदाधिकारी बैठक पनि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रवक्ता अग्नी सापकोटाले संसारभरी नै अहिले अराजकता र अन्योल जस्तो स्थिति रहेको भन्दै धमिलो पानीमा माछा मार्न सकिन्छ कि भनेर सोच बनाउनु सपना मात्र हुने बताए।
उनले भने,‘ हामीले गणतन्त्र त रगतको पोखरीमा पौडी खेल्दै ल्याएका हौ नि त। हामीलाई जनताप्रति धेरै विश्वास छ। संसारभरी अहिले अराजकता छ। अन्योल जस्तो स्थिति छ। यही परिस्थितिमा धमिलो पानीमा माछा मार्न सकिन्छ कि भन्ने आत्मारतिमा कोही लागेका छन्। त्यो सपनामा मात्रै हुन्छ। सफल हुँदैन।’
तस्तै उनले राजाले शासन छाडेपछि पनि माओवादीले राजसंस्था ल्याउन खोजेको थियो भन्ने जनतालाई भ्रमित पार्ने उद्देश्यले आरोप लगाइएको बताए।
उनले भने,‘माओवादीले राजा ल्याउने कुरा कल्पना पनि गर्न सक्दैन। माओवादीले ल्याउन खोजेको भनेर एउटा भाष्य बनाउन खोजिएको मात्र हो। जनतालाई भ्रमित पार्ने उद्देश्य अन्तर्निहित छ। जनता भ्रमित हुँदैनन्।’