इलामको रोङ गाउँपालिका– ४ कोल्बुङस्थित इको चिया उत्पादक सहकारी संस्थामा चार सय ५६ घरपरिवार आबद्ध छन्। तीमध्ये एक सय १५ परिवार व्यावसायिक चियाखेती गर्छन् भने ८० परिवारले बेसारखेती सुरु गरेका छन्।

सहकारीमा आबद्ध अन्य सदस्यका परिवारले आंशिक रूपमा विविध खेती गरिरहेका छन्। गत वर्ष गाउँपालिकाले बेसारखेती प्रवर्द्धन गर्न सहकारीमार्फत तालिमसँगै र अनुदान उपलब्ध गराएपछि यहाँका किसान चिया र बेसारखेतीमा आकर्षित भएका हुन्।

बाँदरले दुःख दिएर खेती गर्न मन नलागेका बेला रोङ–४ किटेनीकी उर्मिला गुरुङलाई सहकारीले बेसारको बीउ अनुदान दिएपछि उनले बारीभरि बेसार लगाएकी छिन्।

पहिले पहिले खानका लागि मात्र रोपिने बेसार व्यावसायिक खेती गर्न थालेपछि मनग्य आम्दानी हुन थालेको उनको भनाइ छ।

सोही वडास्थित गैरीगाउँका हेम लाप्चा र रत्न लाप्चाले पनि जनही ४० केजी बेसार रोपेका थिए। मनग्य उत्पादन भएपछि उत्साहित उनीहरूले खेती विस्तार गर्ने योजना राखेका छन्।

सहकारीले किसानलाई पायक पर्ने ठाउँ छानेर सङ्कलन केन्द्र तोकेको छ। त्यहाँबाट ३० प्रतिकिलोका दरले किसानले उत्पादन गरेको काँचो बेसार खरीद गर्ने गरिएको सहकारी संस्थाका व्यवस्थापक गणेश अर्यालले बताए।