ललितपुर महानगरपालिकाले लगनखेलको चोकमा रहेका भवनहरू भत्काउने काम सुरु गरेको छ। 
ललितपुर महानगरपालिकाले ऐतिहासिक पोखरीहरूलाई पुनरुत्थान गर्ने योजना अन्तरगत सोमबार लगनखेलस्थित पोखरी संरक्षणका लागि भवन भत्काएको महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिएका छन्। 
उनले लगनखेलको चोकमा रहेको पोखरी छोपिएकाले भवनहरू हटाएर पोखरीलाई सबैले हेर्न सक्ने बनाउनको लागि भत्काएको बताए। 
उनले भने, ‘ललितपुर महानगरपालिकाले ऐतिहासिक पोखरीहरुहरुलाई पुनरुत्थान गर्ने योजना अन्तरगत सप्तपातल पोखरी बनाइरहेका छौँ। सँगै राज दलले लिइराखेको लगभग ३० रोपनी क्षेत्रफलमा रहेका तीन वटा पोखरी पनि फिर्ता लिएका छौँ। त्यसको पनि संरक्षण भइरहेको छ। यसै सन्दर्भमा लगनखेल चोकमा रहेको ऐतिहासिक पोखरी छोपिएको अवस्थामा छ। यहाँभित्र पोखरी छ भन्ने कुरा सायद धेरैलाई थाहा छैन होला। यसलाई सुधार गर्दैछौ। तर पोखरीलाई बटुवाहरुले कति ठुलो पोखरी रहेछ भनेर देख्न पाउन भनेर काम गरेका हौँ।’
यसको साथै, उनले उक्त स्थानमा वडा नं ५ को कार्यालयलगायतका भवनहरू रहेको पनि बताए। 
उनले भने, ‘यही ठाउँमा वडा नं ५ को कार्यालयलगायतका भवनहरू धेरै पहिलादेखि बनिरहेको हुनाले ती भवनहरू सबै भत्काउँदै छौ। यहाँ रहेको निहुँ पुखुको बारेमा धेरै मान्छेलाई थाहा छैन। यस्तो ऐतिहासिक निहुँ पुखु छ तर छोपिएको अवस्थामा भएको कारणले कसैले देखेको छैन। त्यसकारण अब यो सबै भवनहरू हटाएर पोखरीलाई राम्रो बनाउँछौ।’