नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले धेरै साथीहरूको त्याग, तपस्या र बलिदानबाट आएको प्रजातन्त्र र लोकतन्त्रको भावनाको रक्षा गर्दै अगाडि बढ्नु पर्ने बताएका छन्। 
बुधवार ललितपुरमा आयोजित नेपाल प्रजातन्त्र सेनानी सङ्घको दोस्रो केन्द्रीय महाधिवेशन उद्घाटन समारोहमा उनले यो व्यवस्था ल्याउन लडेकाहरूको भावनालाई लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 
उनले भने, ‘धेरै साथीहरूको त्याग, तपस्या र बलिदानले आएको यो समावेशी प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र छ। यो व्यवस्था ल्याउन लडेकाहरूको भावनाहरूलाई अझ अगाडि बढाउनु छ। यसको लागि हामी सबै लागि पर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।’
यसको साथै, उनले वर्तमान संविधान सम्पूर्ण नेपालीहरू अटाउने खालको भएको भन्दै यसमा केही कमी कमजोरी भए भोलीका दिनमा सुधार गर्दै जाने बताए। 
उनले भने, ‘हाम्रो पार्टी, संविधान र देश नै समावेशी छ। नेपाल जुन नयाँ संविधान बनेको छ। यसमा सम्पूर्ण नेपालीहरू अटाउने खालको छ। यसमा केही कमी कमजोरी रहेछ भने भोलीका दिनमा सुधार गर्दै जानु पर्छ। त्यसैले यो हाम्रो संविधान लचिलो र संशोधन हुन सक्ने संविधान हो।’
सोही क्रममा पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले ०७ सालको क्रान्तिले सुरु गरेको सामाजिक रूपान्तरण, आर्थिक रूपान्तरण र मुलुकको उन्नतीको राष्ट्रिय अभियान खण्डित भएको भन्दै आज समस्याहरूको बीचमा देशलाई फेरि सही दिशामा ल्याउने प्रयास भइरहेको बताए। 
उनले भने, ‘नेपाली काङ्ग्रेसको राजनीतिमा पछिल्लो समय जो छौ सबैले अघिल्लो पुस्ताले गरेको योगदानलाई हृदयमा राखेर त्यो अनुभवलाई लिएर आफूलाई दीक्षित गरेर आगामी दिनमा काङ्ग्रेस, समाज र देशको लागि आफूलाई तयार गर्नुपर्छ। ०७ सालको क्रान्तिले सुरु गरेको जुन राष्ट्रिय अभियान थियो, सामाजिक रूपान्तरणको, आर्थिक रूपान्तरण र मुलुकको उन्नतीको त्यो खण्डित भएपछि आज समस्याहरूको बीचमा देशलाई फेरि सही दिशामा ल्याउने प्रयास भइरहेको छ।’