मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोनको पहिलो विद्युतीय गाडी ‘ई–मास सेभेन’ नेपाली बजारमा आएको छ। केही समयअघि ग्लोबल लन्च गरिएको यो गाडी नेपाल भित्रिएको हो। नेपालस्थित प्रोटोन ब्राण्डको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले यो गाडी बुधवार विशेष कार्यक्रमकाबीच नेपाल भित्र्याएको हो।
कम्पनीले प्राइम र प्रिमियम गरी दुई भेरियन्टका गाडी सार्वजनिक गरेको छ। प्राइम भेरियन्टमा ४९।५२ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ, जसले ३४५ किलोमिटरसम्म रेन्ज दिने बताइएको छ। त्यस्तै, प्रिमियम भेरियन्टमा ६०.२२ किलोवाट आवर क्षमताको ब्याट्री छ, जसको रेन्ज ४१० किलोमिटरसम्मको छ।
गाडीमा नयाँ पुस्ताको सर्ट ब्लेड ब्याट्री प्रविधि जडान भएको छ, जुन यसअघिको एलएफपी ब्याट्रीभन्दा प्रभावकारी भएको बताइन्छ। यसमा विन्डशिल्ड हेड–अप डिस्प्ले र फ्रन्ट भेन्टिलेटेड सिट जस्ता आधुनिक सुविधा पनि छन्। यसमा प्रयोग भएको १२–इन–१ इलेक्ट्रिक ड्राइभ प्रणालीले सवारीलाई उच्च कार्यसम्पादन र दक्षता प्रदान गर्ने कम्पनीको दाबी छ।
त्यस्तै गाडीमा १०० किलोवाट डीसी फास्ट चार्जिङ क्षमता रहेको छ, जसले गाडीलाई मात्र २० मिनेटमा ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सक्ने कम्पनीको भनाइ छ।