उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताको जगमा आर्थिक क्रान्ति गर्नुपर्ने बताएका छन्। 
प्रजातन्त्र दिवसका अवसरमा नेपाली काँग्रेस बर्दिया जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै यसैलाई समृद्धि बनाउन लाग्नुपर्ने बताएका हुन्। 
उपप्रधानमन्त्री सिंहले २००७ सालको क्रान्ति काँग्रेसले गरेको चर्चा गर्दै २०७२ सालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान पनि काङ्ग्रेसकै नेतृत्वमै जारी भएको भन्दै अबको कार्यभार संविधानलाई संस्थागत गर्दै जनताको जीवन  र जीविकोपार्जन सहज बनाउनु रहेको बताए। 
अहिलेको व्यवस्था लामो सङ्घर्ष र बलिदानबाट प्राप्त भएको भन्दै अधिकारसँगै सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरेर बलियो बनाउनुपर्नेमा पनि सिंहले जोड दिए। 
नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले आन्तरिक रूपमा लोकतन्त्रको अभ्यास गर्दा अग्रजहरूले सिकाएको राजनीतिक संस्कार आत्मसाथ गर्नुपर्ने सिंहको भनाई थियो। 
उनले पार्टी सङ्गठनलाई सुदृढ बनाउनका लागि लाग्न पनि नेता कार्यकर्तालाई आग्रह गरेका छन्। 
यसको साथै, उनले ०७ सालको क्रान्तिपछि प्रजातन्त्र स्थापनासँगै नेपालमा शिक्षाको लहर आएको र प्रजातन्त्र स्थापनापछि देशभर धेरै विद्यालय स्थापना भएको र त्यसले समाजका हरेक क्षेत्रमा ठुलो परिवर्तन ल्याएको बताए।