फागुन ९ गते शुक्रवारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘ताण्डवम्’ को प्रदर्शन रोकिएको छ। सिनेमामा अत्याधिक हिंसात्मक दृश्य रहेकाले ती दृश्यलाई हटाएर ल्याउन भन्दै चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) ले मङ्गलवार सेन्सर रोकेको हो।
सेन्सर रोकिएसँगै आज बुधवारलाई सिनेमाको निर्माण टिमले आयोजना गरेको प्रिमियर सो समेत स्थगित गरिएको छ। सिनेमा हेरेपछि सेन्सर बोर्डका सदस्यहरूले अत्याधिक हिंसात्मक दृश्य भएको भन्दै ती दृश्य काटेर ल्याउन भनेको निर्देशक जुनिम गहतराजले जानकारी दिए।
केही दृश्यहरू अत्याधिक हिंसात्मक भयो भन्दै सिनेमा सेन्सरमा रोकिएको छ। अब, ती दृश्यहरू काँटेपछि सिनेमाको जुन मर्म छ त्यो मर्छ। दृश्य काँटछाँट नगरी ‘एडल्ट सर्टिफिकेट’ दिनका लागि निर्माणपक्षले गरेको आग्रहलाई पनि सेन्सरमा अस्वीकार गरिएको छ। त्यससँगै सिनेमामा रहेको ६ मिनेट लामो हिंसात्मक दृश्यलाई ३ मिनेटमा घटाउन निर्देशन दिएको निर्देशक जुनिम गहतराजले बताए।
सिनेमामा पुष्कर गुरुङ, प्रेम सुब्बा, जुनिम गहतराज, अङ्कित खड्का, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ। सिनेमाले एक नव विवाहित जोडी जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरू जीवनमा घट्ने अकल्पनीय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ।
सिंहदेवी प्रोडक्सनले भिजुयल आट्र्स स्टुडियोको सहकार्यमा निर्माण भएको सिनेमाका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन्। हरि घले लामाले खिचेको सिनेमामा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोविद बज्रको ब्याग्राउण्ड म्युजिक रहेको छ। सिनेमाको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन्।