रौतहट । गौर नगरपालिकामा ७५ औँ प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ।
गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहको अध्यक्षतामा प्रभात फेरी, सहिद प्रति माल्यार्पण र झण्डा तोलन लगायतका विभिन्न कार्यक्रम गरिएको हो।
सरकारी तथा गैर सरकारी सङ्घ संस्थाहरूको उपस्थितिमा प्रभात फेरी गरिएको गौर नगरपालिकाले जनाएको छ। गौर नगर प्रमुख साहले प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको बताए। 
राज्य शक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा वीरवीरांगना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय रहिरहने उनको भनाइ छ। 
गौर सहित जिल्लाका अन्य पालिका तथा विभिन्न सङ्घ संस्थाहरूले पनि विविध कार्यक्रम गरी मनाइरहेका छन्। राणा शासनको अन्त्यका लागि २००७ सालको क्रान्ति सफल भई १०४ वर्ष लामो निरङ्कुश जहानिया शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँदै आएको छ।