भारतको महाकुम्भ मेला स्नान गर्न गएका रुपन्देहीको देवदहका तीन जनाको दुर्घटनामा मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्।
तीर्थालु सवार गाडी दुर्घटनामा देवदह नगरपालिका-९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दीपा खनाल र ४० वर्षीया गंगा शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ।
कुम्भ मेलाबाट फर्किंदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ–वाराणसी राजमार्गको डिभाइडरमा ठोक्किएर सोमबार कार दुर्घटना भएको हो।
महाकुम्भमा स्नान गरेर नेपाल फर्किंदै गर्दा युपी५३एफडी ४२८८ नम्बरको कार दुर्घटनामा परेको थियो।चालकले सन्तुलन गुमाउँदा कार डिभाइडरमा ठोक्किएको प्रहरीले जनाएको छ।
घाइते हुनेहरुमा देवदह-९ भलुहीकी कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र गाडी चालक भारतीय नागरिक रितेश दुबे रहेका छन्। उनीहरुलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि गोरखपुर पठाइएको छ।
फागुन ३ गते देवदहबाट महाकुम्भ मेला स्नान गर्न पाँचवटा गाडीमा ३५ जना भारत गएकोमा नेपाल फर्किने क्रममा चालकसहित ८ जना सवार उक्त गाडी दुर्घटना भएको हो।
