नेकपा (एमाले) का नेता एवं प्रतिनिधिसभा सदस्य सूर्यबहादुर थापाले पत्रकारहरूले परिचालित भएर प्रश्न सोधेको आरोप लगाएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले पत्रकारहरूले मर्यादा, सामाजिक शिष्टाचार, कानुन, संविधानसमेतको ख्याल नराखी प्रश्न गर्ने गरेको बताएका हुन्।
उनले भने, ‘मिडिया व्यवस्थापन संसद्को छविसँग जोडिएको छ। संसदहरुलाई कस्ता प्रश्न सोध्ने रु ती प्रश्न संविधान कानुन बमोजिम हुनुपर्छ कि पर्दैन ? ती प्रश्नमा गालीगलौज अथवा पेड मिडियाको भूमिका खेल्ने गरी कसैद्वारा परिचालित ढङ्गले आरोपित गर्ने गरी प्रश्न गर्न पाइन्छ की पाइँदैनन् ? म आफैँले पनि भोगेको र हिजो प्रधानमन्त्रीज्यूलाई लक्षित गरेर सोधिएका प्रश्नहरूमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ। प्रधानमन्त्रीज्यू प्रश्न उत्तर कार्यक्रमबाट बाहिरिँदा ‘तपाईँ हिटलर हो’भनेर प्रश्न गरियो, नेपालको संसद्ले बनाएको प्रधानमन्त्री हिट्लर हुन्छ र सभामुख महोदय। संसद् सचिवालयको अनुमतिले रिपोर्टिङमा आएका पत्रकार साथीहरूले कानुन, संविधान, आचारसंहिता, सामाजिक शिष्टाचारलाई ध्यान नदिई यस्ता गैरजिम्मेवार प्रश्न सोध्न मिल्छ कि मिल्दैन ?’ प्रश्न गर्दै उनले भने, ‘मिडिया म्यानेजमेन्ट गर्नेतिर, संविधान, कानुन र पत्रकार आचारसंहिता बमोजिम यवस्थित गरियोस्। मलाई नै एक जना मिडियाकर्मीले बुम तेसौएर ‘तपाईँ हनुमान हो ?’भनेर प्रश्न गर्नुभयो। सांसदहरुलाई यस्ता प्रश्न गर्न पाइन्छ कि पाइँदैन ? म यो गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु।’’
साथै उनले बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूले प्रधानमन्त्रीलाई ‘तपाईँ हिटलर हो’ भनेर प्रश्न गरेको र आफूलाई भने ‘तपाईँ हनुमान हो’ भनेर सोधिएको उनले बताए।
साथै उनले आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले सांसदहरूको प्रश्न सोध्ने पाउने अधिकारको दुरुपयोग गरेर प्रधानमन्त्रीमाथि प्रश्न सोधेको उनले बताए।