नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिनिधिसभाका सदस्यको टिप्पणीलाई लिएर राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित गरिनु दुःखद भएको बताएका छन्।
सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले यसरी दुई सदनबीच द्वन्द्वको वातावरण निर्माण गर्न नहुने बताएका हुन्। 
उनले भने, ‘प्रतिनिधिसभाका एक जना माननीय सदस्यको टिप्पणीलाई लिएर राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गरेको छ। त्यो आफैँमा दुःखद हो। यसबाट पाठ सिकौँ, कसै व्यक्तिलाई दोष नदिऊँ। दुवै सदनको काममा द्वन्द्व उत्पन्न हुने काम नगरौँ, संविधानले दुई संसदीय प्रणाली अंङ्गिकार गरेको छ। दुई सदन छन्। यी दुई सदनको बीचमा द्वन्द्व उत्पन्न भयो भने यसले संसदीय व्यवस्थालाई असर गर्छ। एक सदनले बोलेका कुरालाई अर्को सदनले खेद प्रस्ताव पारित गर्ने अवस्था आउनु आफैँमा दुःखद हो।’
साथै  उनले  यस्तो द्वन्द्व बढ्दै गयो भने यसले संसदीय व्यवस्था र लोकतन्त्र कमजोर बनाउने बताए। प्रतिनिधिसभाका सदस्य ज्ञानेन्द्र बहादुर शाहीको अभिव्यक्तिलाई लिएर हिजो राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गरेको थियो। सांसद शाहीले राष्ट्रिय सभालाई वृद्धाश्रमको संज्ञा दिएका थिए।