राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जनकपुर क्षेत्रका १ हजार २ सय जग्गा हिनामिना गरेर आफ्नो बनाउने नेताहरूको नाम सार्वजनिक गरिदिने चेतावनी दिएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले स्थानीय जनप्रतिनिधि, ठेकेदार, दलाल सबै मिलेर जनकपुर क्षेत्रको १ हजार २ सय बिघा जग्गा लुटिएको बताएका हुन्।
उनले भने,‘अहिले १४ सय बिघामा २ सय बिघा मात्रै बाँकी छ। पुराना दलका सबै नेता, त्यहाँको स्थानीय जनप्रतिनिधि, ठेकेदार, दलाल सबै मिलेर १२ सय बिघा लुटिसके। त्यससम्बन्धी पटक–पटक आवाज उठाउँदै आएको छु। विभिन्न चरणमा हामी सरकारमा हुँदै गर्दा त्यसको खोजतलास गर्नका लागि कमिटी र प्रतिवेदनमा पनि काम गरिसकेका छौँ। अहिले वर्तमान सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु, म आफैँ पनि त्यसमा काम गर्दै छु र आगामी बैठकमा कुन–कुन नेताले कति–कति जग्गा लिएको छ भन्ने जानकारी लिएर उपस्थित हुनेछु।’
साथै उनले आगामी बैठकमा कति जग्गा कसले ल्याएको छ त्यसका बारेमा जानकारी लिएर नै उपस्थित हुने चेतावनी समेत दिए।