सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठकले सदनमा विचाराधीन विधेयकहरूलाई अघि बढाउने निर्णय गरेको छ। 
नेकपा एमालेको संसदीय दलको कार्यालय सिंहदरबारमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सत्ता पक्षीय प्रमुख सचेतकहरूको बैठकले यस्तो निर्णय गरेको हो। 
दुवै सदनले विचाराधीन विधेयकहरू अघि बढाउने, शिक्षा र निजामती कर्मचारी विधेयक यही अधिवेशनबाट पास गर्नुपर्ने निर्णय बैठकले गरेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए।
उनले भने,‘सदनमा विचाराधीन विधेयकहरूलाई अघि बढाउने निर्णय आजको बैठकमा गरिएको छ। संसदमा टेबुल भएका अध्यादेशहरूका विषयमा पनि छलफल भएको छ। खास गरी संसदमा विचाराधीन कयौँ विधेयकहरू छन् जसमा दुवै सदनका महत्त्वपूर्ण देखिएका विधेयकहरूलाई निष्कर्षमा पुर्‍याउने र विधेयकहरू अगाडि बढाउने र एउटा बाट पारित भएर अर्कोलाई पठाएका विधेयकहरूलाई पनि निष्कर्षमा पुर्‍याउने निर्णय गरिएको छ।’