हेटौँडा। सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत आज आइतबार एक खेल हुँदै छ। बागमती–४ स्थित सहिद स्मृति रङ्गशालामा हुने खेलमा सशस्त्र प्रहरी बलको (एपीएफ) र चितवनको हानामी बिएफसी बीच प्रतिस्पर्धा हुन लागेको हो।
दुई टिमबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ। आजको विजय टिमले सङ्कटा क्लबसँग प्रतिस्पर्धा गर्ने प्रतियोगितामा ए डिभिजनका ७ र मोफसलका ३ टिमको सहभागिता छ। 
आगामी फाल्गुन १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैंया सहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ।