गृहमन्त्री रमेश लेखकले अध्यादेश स्वीकृत गर्न सहमति जुटेको बताए।
शनिवार सत्ता पक्षीय बैठक पश्चात् पत्रकारहरूसँग कुरा गर्दै लेखकले अध्यादेशलाई अगाडि बढाउने बारेमा सकारात्मक रूपले निष्कर्षमा पुगेको बताएका छन्।
उनले भने, ‘शीर्ष नेताहरूको बैठक बस्यो। मुख्य रूपमा नेपाल सरकारले जारी गरेका अध्यादेश जुन अहिले सङ्घीय संसद्को दुवै सदनमा दर्ता भएका छन् ती अध्यादेशहरू सङ्घीय संसद्को दुवै सदनमा स्वीकृत गराउनुपर्ने भएकाले त्यसै विषयमा केन्द्रित भएर छलफल भएको छ। समसामयिक राजनीतिक विषयमा पनि केही छलफल भएका छन्। मुख्य रूपले अध्यादेश स्वीकृत गर्ने, अध्यादेशलाई अगाडि बढाउने बारेमा छलफल सकारात्मक रूपले निष्कर्षमा पुगेको छ। ’
उनले अध्यादेश पास हुने प्रकियामा अगाडि बढाउन अन्य नेताहरूसँग पनि फोन संवाद भएको जानकारी दिए।
‘अध्यादेश पास हुने प्रकियामा अगाडि बढ्छ। सबै राजनीतिक दलहरू सहमत भएका छन्। बहुमतको साथ अब चाँडै अघि बढ्छ। जसपा नेपालका माननीय उपेन्द्रजी, माननीय राजकिशोरजीसँग फोनमा वार्ता भएको छ। सहमति अनुसार अध्यादेश स्वीकृतको गर्छौ। सम्भवतः फागुन ६ गते सभामा प्रस्तुत हुन्छ। अध्यादेशहरू प्रतिस्थापन हुन्छ, भूमिसम्बन्धी अध्यादेशमा पनि प्रतिस्थापन हुन्छ। संविधान संशोधनको विषयलाई छलफल गर्न कार्यदल बनाउने कुरामा सहमत भइसकेका छौँ। संविधानका सबल पक्ष र दुर्बल पक्षमा पहिचान गरी संविधानमा परिमार्जन संशोधनको आवश्यकता छ पहिचान गरी सबैसँग संवाद गर्छौ।’