नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले वर्तमान सरकारले सात महिना बित्दा पनि केही काम गर्न नसकेको बताएका छन्। 
शनिवार काठमाडौँमा आयोजित बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले देशमा कुनै पनि विपत्ति नभएपनि दुई ठुला दल मिलेको भन्दै ठुला दल मिल्दा पनि देशमा केही परिवर्तन नभएको बताए। 
उनले भने, ‘व्यवस्थाको हिसाबले सबैभन्दा उत्कृष्ट संविधान हामीले निर्माण गर्‍यौँ। तर पनि समाधान निस्किएन। एमालेका अध्यक्ष र काङ्ग्रेसका सभापति मिलेका छन्। वास्तवमा कुनै पनि देशमा ठुलो विपत्ति, राष्ट्रिय सङ्कट, विदेशी हमला भएको र साँच्चिकै आपत्ति भएको बेला मात्र प्रमुख दलहरू मिल्छन्। तर हाम्रो देशमा त्यस्तो कुनै अवस्था पनि थिएन। तर ठुला दल मिले र देशमा विकास गर्छौ, नयाँ फड्को मार्छौ भने। तर यो सात महिना बित्दा पनि केही हुन सकेको छैन।’
यसको साथै, उनले देश मरुभूमि बन्दै गइरहेका बेला सरकारले चिन्ता नै नलिएको पनि बताए। 
उनले भने, ‘सुशासन ल्याउने, भ्रष्टाचार हटाउने नारा लगाए। आर्थिक समृद्धि ल्याउँछौ पनि भने। तर व्यापार घाटा बढेको छ। भ्रष्टाचारले बाटो काटेको छ। बेरोजगारी बढेको छ। देश मरुभूमि हुदैँछ। यस्तो अवस्थामा चिन्तामा हुनुपर्ने सरकारले चिन्ता लिएको छैन।’
मुलुक डरलाग्दो सुरुङतिर फस्यो : भुसाल
सोही क्रममा नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुक झन् झन् डरलाग्दो सुरुङभित्र पस्दै गएको बताए। 
उनले भने, ‘मुलुक झन् झन् डरलाग्दो सुरुङभित्र पस्दै छ। अनि सत्तामा को छन् भन्दा लिपापोती गर्नेहरू छन्। ठुला पार्टी संसदीय मान्यताको हिसाबले किन एक ठाउँमा आए, के राष्ट्रिय परिस्थिति थियो ? संविधान छोएर पार लगाउँछन् जस्तो लाग्दैन। काँग्रेस र एमालेको विचार, इतिहास केही नमिल्ने भएकाले काम गर्न कठिन हुनेछ।’ 
यसको साथै, उनले कम्युनिस्ट आन्दोलनको रूपान्तरण र पुनः गठनको मिसनमा लागेको भन्दै अब योग्यता देखाउनुपर्ने अवस्था आएको बताए। 
उनले भने, ‘सत्ता नालायक छ, सडक अराजक छ। यो बेला एउटा जिम्मेवार पार्टीको हस्तक्षेप मुलुकलाई खाँचो छ। अब कम्युनिस्ट आन्दोलनको एकताका कुरा पनि छ। कम्युनिस्ट पार्टीको एकताको पक्षमा हामी छौँ तर त्यस्तो कम्युनिस्ट विराट आन्दोलन नगरिकन रूपान्तरण र पुनः गठनको मिसन पूरा गर्न सक्दैनौ। हामीले पुनः गठन गरिसकेका छौ रूपान्तरण गर्न बाँकी छ। रूपान्तरण गर्ने भनेको आजको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने हो, हिजोभन्दा ठुलो र राम्रो पार्ने हो। हाम्रो योग्यता देखाउनुपर्ने अवस्था आएको छ।’