नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचारको अन्त्य नभएसम्म राष्ट्रिय एकता कायम हुन नसक्ने बताएका छन्।
मकवानपुरको बागमती गाउँपालिकाले निर्माण गरेको सहिद स्मृति रङ्गशाला तथा सातौँ बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रयोगिताको उद्घाटन गर्दै उनले भ्रष्टाचारको अन्त्य र सामाजिक न्याय स्थापनाको लागि देशव्यापी जनमत बलियो बन्दै गएको भन्दै यसको लागि नयाँ राष्ट्रिय एकता निर्माणको अभियान थालेको बताए।
उनले भने, ‘जबसम्म देशबाट भ्रष्टाचारको अन्त्य गरिँदैन र सामाजिक न्याय स्थापित गरिँदैन, त्यति बेलासम्म राष्ट्रिय एकता कायम हुन सक्दैन र देश अघि बढ्न सक्दैन भन्नेमा देशव्यापी जनमत बलियो बन्दै गएको छ। मैले देशैभरि नयाँ राष्ट्रिय एकता निर्माणको अभियान थालेको छु। हाम्रो अभियान सफल बन्दै गएको छ।’
यस्तै, उनले भ्रष्टाचारका विरुद्ध सुशासन, राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा देशैभरि देखिएको चेतनाको लहर नयाँ आशाको किरण भएको पनि बताए।
उनले भने, ‘यो सचेतना निकै महत्त्वपूर्ण छ। हामी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डालाई बलियो बनाउँदै आवश्यकताअनुसार सडक, सदन र सरकारका सबै मोर्चाबाट राष्ट्रिय एकताका लागि अगुवाइ गर्ने छौँ। यसमा सबै लामबद्ध हुन पनि आह्वान गर्न चाहन्छु।’
नागरिकलाई स्वस्थ बनाउन र देशको प्रतिष्ठा विश्वव्यापीरुपमा स्थापित गर्न खेलकुदको विकास महत्त्वपूर्ण भएको उल्लेख गर्दै उनले स्थानीय सरकारले यसमा ध्यान दिनु थप महत्त्वपूर्ण भएको बताए।
यसअघि अध्यक्ष प्रचण्डले पार्टीको बागमती गाउँपालिकामा कार्यालयमा स्थानीय नेता कार्यकर्तासँग भेटघाट गर्दै देशव्यापीरुपमा पार्टीप्रति आकर्षणको लहर सुरु भएकाले यसलाई संस्थागत गर्दै अघि बढाउन आग्रह गरे।
उनले माओवादीले नेतृत्व गरेका पालिकाहरूले उत्कृष्ट स्थान हासिल गर्दै गएको उल्लेख गर्दै पार्टीले नेतृत्व गरेका सबै पालिकालाई नमुना बनाउने गरी पार्टीले केन्द्रले योजना अघि सारेको बताए।
त्यस्तै, उनले सहिद परिवारसँग पनि भेटघाट गरेका थिए भने आजै झापाको दमकमा हुने जनसभा तथा पार्टी प्रवेश र विराटनगरमा हुने पार्टीको प्रदेश बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।