शनिवार कोशी प्रदेश सरकार गठन भएको ७ वर्ष पूरा भएको छ। २०७२ सालको संविधान निर्माण र त्यससँगै जोडिएको सङ्घीयता कार्यान्वयनसँगै कोशी प्रदेशमा पहिलो पटक २०७४ साल फागुन २ गते प्रदेश सरकार गठन भएको थियो।
स्थापनाको ७ वर्ष पुरा भएको अवसरमा सरकारले विशेष समारोहको आयोजना गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजना गरेको कार्यक्रममा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री हिक्मतकुमार कार्की, सभामुख अम्बर बहादुर विष्टका साथै सरकारका मन्त्रीहरू लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। 
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका प्रदेश प्रमुख परशुराम खापुङले कानुन निर्माण, संस्थागत संरचना सामाजिक न्याय र लोक कल्याणकारिता अभिवृद्धिमा उल्लेख्य काम गरेको उल्लेख गरे। 
प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशले भौतिक विकासमा उल्लेख्य उपलब्धि हासिल गरे पनि मानवीय सूचकाङ्कका विषयमा काम गर्नुपर्ने आवश्यकता रहेको औँल्याएका छन्। उनले भने, ‘बनेका कामहरूलाई संस्थागत गदै मानवीय संसाधनका कुराहरूलाई जोड दिनुपर्ने छ।’
मुख्यमन्त्री कार्कीले प्रदेशको नामकरणको सन्दर्भमा प्रदेश सभाबाट पास भएको विषय रहेको उल्लेख गरेका छन्। उनले भने, ‘पहिचानका क्षेत्रमा के कस्ता काम गर्नु पर्ने हो प्रदेश सरकार तयार भएको अवस्था रहेको छ। यो अवधिमा पहिचानका क्षेत्रमा भएको काम अन्य कुनै प्रदेशमा नभएको दाबी पेस गर्दछु।’
उनले सङ्घीय शासन प्रणालीलाई दिगो बनाउने गरी सबै क्षेत्रबाट काम गर्न जरुरी रहेको समेत बताए। 
सो अवसरमा कोशी प्रदेश सरकारको ७ वर्ष शीर्षकको पुस्तक समेत सार्वजनिक गरिएको छ। जसमा सरकारले ७ वर्षभित्र गरेका कामको फेहरिस्त उल्लेख गरिएको छ। उपलब्धि अनुसार पछिल्लो ७ वर्षमा ७५ वटा कानुन निर्माण भएका छन् भने, आर्थिक वर्ष २०७४–०७५ देखि २०८०–८१ सम्म प्रदेशका लागि २ खर्ब २९ अर्ब बजेट विनियोजन हुँदा १ खर्ब ६८ अर्ब ३९ करोड बजेट प्रदेशले खर्च गरेको उल्लेख गरिएको छ। 
७ वर्षमा ९ सरकार!
प्रदेश सरकारको स्थापना भएयता कोशीमा ९ वटा सरकार बनेका छन्। २०७४ फागुन २ गते शेरधन राईको नेतृत्वमा पहिलो पटक सरकार गठन भएको थियो। यसैगरी, दोस्रो मुख्यमन्त्रीका रूपमा २०७८ भाद्र ११ गते भीम प्रसाद आचार्य मुख्यमन्त्री बने। २०७८ कात्तिक १६ गते राजेन्द्र कुमार राईको नेतृत्वमा कोशी सरकार निर्माण हुँदा पहिलो ५ वर्ष सकिएको थियो। 
दोस्रो कार्यकालका लागि पहिलो मुख्यमन्त्री हिक्मत कुमार कार्की बने। वर्तमान मुख्यमन्त्री समेत रहेका कार्की २०७९ पौष २५ गते कार्की पहिलो पटक मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। दोस्रो कार्यकालको २ वर्षको यो अवधिमा भने, ६ वटा (सर्वोच्च अदालतबाट अवैधानिकसहित) सरकार बनेका हुन्।